राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गरेवापत विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ।
जर्मन सरकारको सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेवापत ती कम्पनीले अनुदान पाएका हुन्।
अशोक स्टील इन्डस्ट्रिज प्रा.लि.लाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्सलाई २० लाख एक हजार एक सय ३१ रुपैयाँ, गोइन्का स्टील प्रा.लि.लाई पाँच लाख ६० हजार चार सय रुपैँया अनुदान रकमको चेक सोमबार एक समारोहका बिच हस्तान्तरण गरिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे। उनले अन्य बैंकको तुलनामा रा.वा.बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आव्हान गरे।
नेपाल सरकार र जर्मन सरकारीबीच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि ‘प्रोजेक्ट एक्क्युटिङ एजेन्सी (पीईए)’ को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ।
यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ।
यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ।

प्रतिक्रिया