कारोबार


११ बुँदे भावुक पत्र लेख्दै ग्लोबल आईएमईबाट विदा भए सीईओ कुँवर

११ बुँदे भावुक पत्र लेख्दै ग्लोबल आईएमईबाट विदा भए सीईओ कुँवर

नेपालखबर
असार २५, २०७७ बिहिबार १२:४,

११ बुँदे भावुक पत्र लेख्दै ग्लोबल आईएमई बैंकका सीईओ पर्शुराम कुँवरले पद छोड्ने घोषणा गरेका छन्। उनले २०७८ सालसम्म जेठसम्म आफ्नो कार्यकाल रहे पनि स्वास्थ्यको कारण राजीनामा दिएको कुँवरले जनाएका हुन्।

उनले असार १ गते नै राजीनामा दिएर बैंकले साउन १ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको बताएका छन्।

जाँदाजाँदै के भने?

मेरो जीवनको अर्को महत्वपूर्ण र अविस्मरणीय दिन
१)स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मैले पेश गरेको राजीनामा बैंकको सञ्चालक समितिले २०७७ साउन १ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ।

२)म मेरो रोजगार सम्झौताअनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैंकिङ क्षेत्र मात्र होइन, सम्पूर्ण क्षेत्रबाट पूर्णकालीन कामबाट अवकाश लिन चाहन्थेँ तर मानिसहरुका सबै इच्छा र आकांक्षा पूरा हुँदैनन्! म कुनै ठूलो महत्वाकांक्षा राख्ने मान्छे होइन। जिन्दगीभर मेहनत गर्ने र मेहनतको फलबापत जे पाएँ त्यसैमा चित्त बुझाएँ! तर मेरो यो आकांक्षा पूरा नभएकोमा मलाई जिन्दगीभर अलिकति पीडा हुनेछ।

३) जिन्दगीभर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरें अर्थात् बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म हप्ताको ६ दिन काम गरें। ज़िन्दगीका थुप्रै दिन दिनको १४-१५ घण्टा र शनिबारका दिन काम गरेको छु! पढाइमा त अब्बल नै थियँ तर सरकारी स्कुल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिएँ र सहायक तहवाट वैकिगं क्षेत्रमा प्रवेश गरेको थियँ! म आज जहाँ छु र ज़िन्दगीमा मैले जे हासिल गरेँ त्यो सवै मेरो मेहनतकै फल हो।

४) तर अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६”को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएजस्तो महशुस भयो। २१ लाखभन्दा बढी ग्राहकहरु, ३१०० भन्दा बढी कर्मचारी र लाखौं सेयरधनीहरु भएको ग्लोबल आईएमई बैंकजस्तो बैंकमा जागिर खाने नाममा कुर्चीमा टाँसिएर बस्न मन लागेन। आशातित गति, अपेक्षा र भावनाअनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६”को मोडेलमा काम गर्न जरूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सिईयोको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन । यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र वसेको भए, वैकका सबै सरोकारवालाहरु (ग्राहकहरु, सेयरधनीहरु, कर्मचारीहरु, नियमनकर्ता/सरकार र समुदाय) प्रति मैले अन्याय गरेको हुने थिएँ! यो मेरा लागि स्वीकार योग्य थियन ।

५)वि.सं. २०७४ असार १ गते तत्कालीन जनता वैकमा सिईयोको रुपमा कार्यभार सम्भाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास वैक र सिध्दार्थ विकास वैक मर्ज़ गरेर एकै चोटी ठूलो भएको जनता वैकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समय पछि मलाई विदा दिनुपर्छ भनेर तत्कालीन सञ्चालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्षपछि बैंक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र बस्ने हो भन्थेँ। त्यो हिसावले म १३ महिना बढी बैंकमा काम गरेको छु। अझ त्रिवेणी विकास वैक र सिध्दार्थ विकास वैकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधी समेत गणना गर्ने हो भने वैकसंग ३ १/२ वर्ष सम्वध्द हुन पुगेको छु।

६)ग्लोबल आईएमई वैकले राम्रो गरेको छ, राम्रो गर्दैछ र अझ राम्रो गर्ने संभावनाहरु विध्दमान छन् ! देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने वैकको क्षमता छ । वैकको पूर्वाधार सबल छ, बैंकको व्यवसाय राम्रो छ, वैकको छवि राम्रो छ र वैकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, बफादार, लगनशील, र परिणाममुखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई miss गर्नेछु। यस्तो गुणहरु भएको वैकले भविष्यमा अझ राम्रो गर्दै जानेछ भनी सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु । र म यस घडीमा वैकका सवै सरोकारवालाहरुमा आ-आफनो ठाउँबाट भविष्यमा पनि वैकलाई थप साथ र सहयोग गर्न हार्दिक आह्वान गर्दछु।

७)विगत करिब साढ़े ३ दशक बैंकिङ क्षेत्र र त्यसभन्दा अघि करिब साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु। आफूले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाहरुका सरहरु/म्याडमहरुसँग र मेरा ग्राहकहरुसँग थुप्रै अन्तर्क्रियाहरु र बैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विद्यार्थीहरुलाई चोट पुर्याएको छु। यसको लागि म यहाँहरुसंग माफ़ी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलियर व्यावसायिक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु।

८)यो अवकाशसँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक daily routine प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून छ। मेरो बाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैंकिङ क्षेत्रका कर्मचारीलाई तालीम प्रदान गर्नमा बिताउनेछु । तालीम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौख (passion) को चीज रहदै आएको छ। मैले बैंकिङ क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म बाँड्न चाहन्छु। मैले सधै भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन्।

९)मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापुर्वक संस्थागत सुशासन क़ायम गर्दै काम गरेको छु । मैले सधै “Good Sleep” रोजें, “Good Food” कहिल्यै रोजिन। यसले मलाई “Fearless”वनायो। कतिपय अवस्थामा यो मेरो Strength पनि वन्यो weakness पनि ! यसै कारण कसैले मेरो नैतिकता र ईमान्दारीतामा औंला ठड्याउन सकेनन् ! जिन्दगीमा मैले कमाएको सवै भन्दा ठूलो पूँजी हो यो! मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसावले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो वैकिगंको महाविद्यालय ग्रिन्ड्लेज / स्टैण्डर्ड चार्टड वैकलाई श्रेय जान्छ ! म वहाँहरुलाई सधै संझने छु !

१०) बैकमा काम गरिरहेको अवस्था र बैकिगं क्षेत्र भन्दा वाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो। वित्तीय सुधार कार्यक्रम अन्तर्गत ३ १/२ वर्ष नेपाल वैकमा काम गर्दा ( जुलाई २००३ -डिसेम्वर २००६) देखि नै मेरो वहाँहरुसंग संगत रह्यो। वहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाड्-ठाडो रुपमा प्रस्तुत भएको हुंला, यसको लागि म वहाँहरु संग क्षमा याचना गर्दछु।

११) अन्तमा, बैंकिङ क्षेत्रमा जे जति गर्नसकेँ यसको पछाडी मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सवै सदस्यहरुलाई धन्यवाद दिन्छु । पूर्णकालीन व्यावसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad