सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचरका पदाधिकारीले आफूलाई भेटेको भन्ने कुरा झुठो भएको बताएका छन्।
भारतीय सञ्चारमाध्यमले भारतीय गुप्तचरका पदाधिकारी नेपाल आएको र प्रवक्ता श्रेष्ठसहित नेकपाका अन्य नेताहरुलाई भेटेको भन्ने समचारको खण्डन गर्दै उनले त्यसमा कुनै सत्यता नभएको बताएका हुन्।
उनले बिहीबार अपरान्ह सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय सञ्चारमाध्यममा आएको समचारप्रति आफ्नो ध्यानाकर्षण समेत भएको बताएका छन्।
उनले खबरदार गर्दै भारतीय गुप्तचर नेपाल आए नआएबारे सरकारले मात्रै प्रस्ट पार्न सक्ने बताएका छन्।
‘भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएको र मलगाएत हाम्रो पार्टी र अन्य पार्टीका विभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मेडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, ट्विटरमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘आए, नआएको सरकारले स्पष्ट पार्न सक्ला।तर, मसगँ भेटेको भन्ने पुरै झुठ हो। खवरदार!’
भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएको र म लगाएत हाम्रो पार्टी र अन्य पार्टीका बिभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मेडियाले प्रचार गरेको समाचारप्रति मेरो गँभीर ध्यानाकर्षण भएको छ।आए,नआएको सरकारले स्पष्ट पार्न सक्ला।तर म सगँ भेटेको भन्ने पुरै झुठ हो।खवरदार!
— NKShresthaPrakash (@nksthaprakash) July 9, 2020यसअघि आजै प्रवक्ता श्रेष्ठले भारतीय सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै खबरदारी गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यन्छीलाई जोडेर भारतीय मिडियामा अतिरञ्जित समचार आइरहेको प्रति प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन्। उनले अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकवास बन्द गर्न चेतावनी समेत दिएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट लेख्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफूहरु एकढिक्को रहेको बताएका छन्।
उनले भारततर्फ संकेत गर्दै विदेशीको फुटाउ र स्वास्र्थ पूरा गर भन्ने राणनीति सफल हुन नदिने बताए। उनले नेपालमा के गर्ने भन्ने कुरा नेपालको आन्तरिक मामिला भएको बताए।
‘भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर’, सामाजिक सञ्जालमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्को छौं। विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौँ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’

प्रतिक्रिया