कारोबार


भूकम्पपछि १० नयाँ स्टिल उद्योग थपिए, बजारमा बढेन माग

भूकम्पपछि १० नयाँ स्टिल उद्योग थपिए, बजारमा बढेन माग

नेपालखबर
असार २४, २०७७ बुधबार ११:३५,

०७२ वैशाख १२ को भूकम्पपछि झण्डै एक दर्जन स्टिल उद्योग थपिए पनि बजारमा डन्डीको माग नबढेको सम्बद्ध व्यवसायीहरुले बताएका छन्।

पाँच वर्षअघिको भूकम्पले हजारौँ भौतिक संरचना नष्ट र अर्बौँको क्षति भएपछि निर्माण क्षेत्रमा तीव्रता आउने उत्साहले नयाँ उद्योग थपिए पनि यससम्बन्धी सामग्रीको माग नबढेको हो।

भूकम्पपछिका वर्षमा पूर्वाधार-निर्माण व्यवसायीहरुले निर्माण सामग्रीहरु फलामे डन्डी, सिमेन्ट, इँट्टा, प्रिफेबलगायतका नयाँ उद्योग स्थापना गर्ने तथा भएकालाई क्षमता विस्तार गरेका थिए।

यीमध्ये भूकम्पपछि तीव्र लगानी थपिएको क्षेत्र हो स्टिल उद्योग। निर्माण क्षेत्र तीव्र हुने र मागमा ह्वात्तै बढ्ने आशा गर्दै नयाँ–नयाँ उद्योगहरु आए।

नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा साखः स्टिल सञ्चालक किरण साखःले भूकम्पछिको पाँच वर्षमा १० वटा नयाँ स्टिल उद्योग थपिएको बताए।

‘अहिले मुलुकमा २७ वटा स्टिल उद्योग छन्’, साखःले नेपालखबरसँग भने, ‘भूकम्पछि मात्र १० वटा यस्ता उद्योग थपिए।’

२०७२ वैशाख १२ गते शक्तिशाली भूकम्प गएपछि त्यस वर्ष निर्माणकार्य खासै भएन। निर्माणाधीन घरहरु पनि रोकिए। निर्माणकार्य ठप्पप्रायः भयो।

अर्को वर्षदेखि भने निर्माणकार्यले तीव्रता पायो। रोकिएका भौतिक संरचना निर्माणले निरन्तरता पाए भने भूकम्पले भत्काएका घर, सार्वजनिक संरचनाको पुनर्निर्माण सुरु भयो।

‘अर्को वर्षदेखि निर्माणकार्य सुरु भयो’, साखः भन्छन्, ‘निर्माणकार्य यस्तो भयो कि थुनेर राखेको नदीजस्तो एकैपटक बाढी आयो।’ यही कारण बजारमा रडको माग उच्च भयो।

ह्वात्तै बढेको स्टिलको बजारमा सामान अपुगजस्तै भयो। भारतबाट पनि आयात गर्नुपर्ने अवस्था भयो। त्यो बेला भारतबाट गुणस्तरहीन रड आउँछ भनेर सरकारले रोक्नुपरेको थियो।

बजारमा आएको यही उच्च मागका कारण यस उद्योगमा लगानी गर्नेहरु आकर्षित भए। भूकम्पपछिको ४ वर्षको अवधिमा १० वटा उद्योग थपिए।

मुलुकमा पुनर्निर्माणको काम भइरहेको बेला रडजस्ता निर्माण सामग्रीको माग राम्रो थियो तर पछिल्लो समय भने यो विस्तारै घट्दै गएर पुरानै अवस्थामा पुगेको व्यवसायीहरुको भनाइ छ।

‘केही न केही माग थप भइरहन्छ तर जसरी भूकम्पपछि बढेको थियो, त्यो कायम रहन सकेन’, साखःले भने, ‘उद्योग एकपछि अर्को गर्दै थपिए तर मागमा स्थिरता रहेन।’ केही न केही माग बढेकाले उद्योगहरु थपिएको तर बजारको मागभन्दा धेरै उद्योग आएको उनको भनाइ छ।

माग स्थिर नभएर घट्न थालेपछि उद्योगहरुलाई समस्या पर्न थालेको उनीहरुको भनाइ छ। बजारमा जसरी उद्योग थपिएका छन्, त्यसअनुसारको बजार भने विस्तार हुन नसकेको उनीहरुको भनाइ छ। सामान्य अवस्थामा पनि माग उच्च नभएको बेला लकडाउनले व्यवसायलाई थप समस्यामा पारेको एसोसिएसनका पूर्वअध्यक्ष ध्रुव कुमार श्रेष्ठले बताए।

बजारमा निर्माण सामग्रीको माग बढाउन सरकारले पुँजीगत खर्च बढाउन सक्नुपर्छ। त्यस हिसाबले हेर्दा पनि हरेक वर्ष विकास खर्च धेरै नहुँदा स्टिलजस्ता निर्माणसामग्रीका माग बढ्नसकेको छैन।

यो वर्ष पुँजीगत खर्च ४० प्रतिशतभन्दा धेरै नहुने देखिन्छ। मुलुकमा लकडाउन सुरु भएसँगै भने फलामे डन्डीको मागमा ९० प्रतिशतभन्दा धेरै घटेको व्यवसायीको भनाइ छ। यसले गर्दा थप समस्या उत्पन्न भएको छ।

साखःले पछिल्लो दुई/तीन वर्षमा माग राम्रो भयो भन्ने अनुभव हुन नपाएको बताए। बजारबाट ठूलो स्तरमा माग आएर त्यसलाई पु¥याउन सकिँदैन कि भन्ने अवस्था कहिले नभएको उनको भनाइ छ।

मुलुकमा स्टिलको माग वार्षिक १२ देखि १४ लाख मेट्रिक टन छ। तर, हाल रहेको उद्योगहरुले वार्षिक ३० लाख मेट्रिक टन उत्पादन गर्ने क्षमता राख्छन्।

अहिले बजारमा मागभन्दा आपूर्ति धेरै भइरहेको र बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको व्यवसायीहरुको भनाइ छ। व्यवसायीहरुबीच रिटेलरलाई बढी नाफा दिने र उधारोमा बाँड्ने समस्या बढेको व्यवसायीहरुको भनाइ छ।

बजारमा अस्वस्थ प्रतिस्पर्धाकै कारण अर्बौँ लगानी गरेको व्यवसायीहरुलाई समस्या भएको साखःले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad