कोभिड १९ बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भएपछि समस्यामा परेका उद्योगी व्यवसायीलाई सम्बोधन गर्न राहत प्याकेज नल्याए आन्दोलनमा जाने बताएको हो।
महासंघका अध्यक्ष नरेश कटुवालले उद्योग कलकारखाना र व्यापार व्यवसाय ठप्प भएकाले समस्या बढेको भन्दै सरकारले उचित सम्बोधन नगरे शुक्रबारदेखि चरणवद्ध आन्दोलनमा जाने बताए। उनले लकडाउनको समयलाई शुन्य समय मानेर ब्याजदर, कर, घरभाडा लगायतमा छुट पाउनुपर्ने बताए।
महासंघले लकडाउन अवधिभरको बैंकको ब्यजादर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता र ब्याज तिर्ने समय एक वर्ष पछाडि सार्नुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योगी व्यवसायीहरुको पहुँच सुनिश्चित गर्नुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम हुनुपर्ने, स्प्रेड रेट ३ दशमलव ५ प्रतिशत हुनुपर्ने, लकडाउन अवधिको व्यवसायिक घरभाडा छुट दिनुपर्ने लगायतका मागहरु राखिएको अध्यक्ष कटुवालले बताए। उनले लकडाउनको कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न निजी क्षेत्र सम्मिलित समन्वय समिति गठन गर्न समेत माग गरे।
व्यवसायीहरुले राखेका मागहरु पुरा गर्न दबाब दिन पहिलो चरणमा शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागिएको अध्यक्ष कटुवालले बताए। त्यसपछि पनि सरकार गम्भीर नबने चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर अगाडि बढ्ने उनले बताए।
उनले कोरोना महामारीका कारण प्रभावित भएका उद्योग, कलकारखाना र व्यवसायलाई बचाउनुपर्ने अवस्थामा सरकारको ध्यान अन्तै मोडिएकाले पनि आफूहरु आन्दोलित हुनुपरेको स्पस्ट पारे।
Shares

प्रतिक्रिया