कारोबार


पश्चिमाञ्चल होटल संघले बैंकलाई भन्योः ऋण भुक्तानीका लागि अहिले दबाब नदेउ

पश्चिमाञ्चल होटल संघले बैंकलाई भन्योः ऋण भुक्तानीका लागि अहिले दबाब नदेउ

वाशुदेव मिश्र
असार २३, २०७७ मंगलबार १०:४६,

पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ। यस्तै ताकेताले आजित भएका यातायात व्यवसायीले आफ्नो सवारी साधनको चाबी नै बैंकलाई बुझाएको भोलिपल्ट होटल संघको आग्रह सार्वजनिक भएको हो।

पर्यटन तथा होटल क्षेत्रलाई आषाढ मसान्तको कारण देखाउँदै बैंक तथा वित्तीय क्षेत्रबाट साँवा तथा व्याज भुक्तानको निम्ति तारन्तार ताकेता भइरहेको छ।

संघका अध्यक्ष विकल तुलाचनद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल कुनै पनि व्यवसायीले कर्जा भुक्तान गर्ने स्थिति नरहेकोप्रति जानकार हुँदाहुदै कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानसिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने र त्यस असहज परिस्थितिको भागिदार बैंक तथा वित्तीय क्षेत्र हुने पनि जानकारी गराउँदछौं।’

सरकारद्वारा हाल होटल व्यवसायलाई बन्द नै घोषणा गरी सो अनुसार व्यवसाय पूर्णरुपमा बन्द भएको अवस्थामा बैंकको कर्जाको साँवा तथा व्याज भुक्तान गर्न असमर्थ रहेको संघले जनाएको छ। विषम परिस्थितिलाई ध्यानमा राख्दै होटल तथा पर्यटन व्यवसायीहरुलाई कर्जाको साँवा तथा व्याज भुक्तानीको निम्ति ताकेता वा जोडबल नगरियोस् भन्ने संघको माग छ।

यसैगरी संघले पुनर्कर्जाको कार्यविधि जारी गर्न नेपाल राष्ट्र बैंकले ढिलाई गरेको प्रति पनि आपत्ति प्रकट गरेको छ। वर्तमान विषम परिस्थितिमा नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि र मौद्रिक नीति असार महिनाभित्र नै जारी गर्नु पर्नेमा श्रावण महिनामा जारी गर्न गरेको तयारीप्रति संघले असन्तुष्टि व्यक्त गरेको हो।

सरकारद्वारा घोषणा गरिएको लकडाउनको कारण पर्यटन तथा होटल क्षेत्र विगत साढे तीन महिनादेखी बन्दाबन्दी भई व्यवसायिक कारोबार शुन्य रहेको र यसबाट पर्यटन तथा होटल व्यवसाय प्रत्यक्ष प्रभावित भएको संघले जनाएको छ। नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै डिसेम्बर २०१९ को अन्त्यबाट अप्रत्याशित रुपमा विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको कारण पर्यटन आगमन सुस्ताएसँगै उक्त संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा २०७६ चैत्र ११ गते बाट लकडाउन लागू गरिएको पनि संघले स्मरण गराएको छ।

यसबाट पर्यटन तथा होटल व्यवसाय लकडाउनको अवस्थामा नै रही होटल व्यवसाय शुन्य अवस्थामा रहेको संघले उल्लेख गरेको छ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी पर्यटन तथा होटल व्यवसायमा बैंक तथा वित्तीय संस्थाको सहयोग र सहकार्यमा साना, मझौला तथा ठुला गरी अत्यधिक मात्रामा लगानीहरु भईरहेको थियो।

हाल पर्यटन व्यवसाय मध्येको होटल उद्योगमा खरबौं रुपैयाँ लगानी, होटल क्षेत्रमा आश्रित हजारौं श्रमिक र श्रमिकसँग निर्भर परिवार साथै पर्यटन तथा होटल उद्योगबाट निर्भर अन्य उद्योग व्यवसायहरुको भविष्य अनिश्चित बन्दै गएकोप्रति पनि संघले चिन्ता जाहेर गरेको छ। जसका कारण कूल ग्राहस्थ उत्पादनमा समेत कमी आई आर्थिक संकट उत्पन्न हुने निश्चित भएको दाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .