लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ।
नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएदेखि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो।
सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ।
सरकारले केही सेवा क्षेत्र खुला गरे पनि लकडाउनको अवधि साउन ७ गतेसम्म बढाएपछि अझै सात अर्बको नोक्सानी बढ्नसक्ने अनुमान गरिएको छ।
पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ। लकडाउनको अवधिमा मन्त्रालयबाट भएका कार्य प्रगतिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार होटलका लागि भ्याट दाखिला गर्ने समय २ महिनाबाट बढाएर चार महिना पु¥याइएको छ।
मन्त्रालयले हवाई जहाज पार्किङ शूल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ।
लकडाउनको अवधिमा विभिन्न विमानस्थलहरुमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ९१ प्रतिशत काम भएको छ। यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा ९ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ५९ प्रतिशत प्रगाति भएको बताएको छ।
त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रनवे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। निजगढ विमास्थल निर्माण क्षेत्रभित्रका रुख बुट्यानहरुको छपानका लागि रुख विरुवा गणनाको काम सुरु भएको छ।
मन्त्रालयले ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्यूटावरनिर्माण सम्पन्न गरेको छ। यस्तै एकीकृत विद्युतीय सञ्जालसम्बन्धी एप्लिकेसन निर्माणको काम पनि सकिएको छ। मध्यपूर्व र युरोप लगायत विभिन्न १७ मुलुकबाट मार्च २४ बाट ३० सम्म नेपाल वायुसेवा निगम लगायतका अन्य वायुसेवाहरुबाट २ सय १४ उडानमार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्धार गरिएको छ। नेपालमा अलपत्र परेका १२ हजार ४ सय ८ जना विदेश प्रस्थान गरेको छन्।

प्रतिक्रिया