कोरोना महामारीका कारण गत वर्ष चैत ११ देखि जारी लकडाउन यही असार १ देखि खुकुलो भएसँगै अधिकांश कार्यालय खुलेका छन्।
तर सार्वजनिक यातायातका साधन भने साउन पहिलो हप्तासम्म बन्द गर्ने निर्णय गरेको छ। कार्यालय खुल्ने तर सार्वजनिक यातायात नखुल्दा कार्यालय आउजाउलाई समस्या भएको छ।
सरकारले यातायातको विकल्पमा साइकल र पैदलयात्रीलाई पहिलो प्राथमिकता दिने बताएको छ। निजी सवारीसाधनलाई भने सरकारले जोरविजोरका आधारमा सञ्चालन गर्न अनुमति दिएको छ।
निजी सवारीसाधनलाई खुला गरे पनि निजी नम्बर प्लेटका दुई पांग्रे तथा चारपांग्रे सवारीलाई राइड सेयरिङ गर्न निरुत्साहित गरेको छ।
टुटल, पठाओलगायतका राइड सेयरिङले भने पुराना राइडरलाई सेवा गर्ने अनुमति दिएको बताएका छन्।
‘कम्पनीले नयाँलाई त दिएको छैन तर पुराना राइडरलाई सेयरिङको लागि अनुमति दिएको छ’, पठाओका एक राइडरले नेपालखबरसँग भने।
सरकारले राइड सेयरिङ गर्दा कोरोना संक्रमण फैलिने भन्दै दुई पांग्रे सवारीमा ‘एक सवारी एक यात्रु’ भन्ने नारा लिएको छ। ट्राफिक प्रहरी महाशाखाले टुटल, पठाओलगायतका राइड सेयरिङ गरेको पाए कारबाही गरिरहेको बताएको छ ।
विकल्प खोइ?
सार्वजनिक यातायात नभए पनि निजी सवारीसाधन यातायातका विकल्प रहेका छन्। यातायात विज्ञले निजी यातायातमा सबैले भन्दा सहज साइकल हुने बताएका छन्।
साइकलको मूल्य पनि कम र स्वास्थ्यको लागि फाइदा गर्ने हुँदा उपयुक्त विकल्प भएको उनीहरुको भनाइ छ।
साइकलमा ‘पैडलिङ’को लागि खुट्टाले काम गर्छन्, पेट्रोलियम पदार्थको आवश्यक पर्दैन। पेट्रोलियम पदार्थ खर्च नहुँदा वातावरण सफा हुन्छ, रोग लाग्ने समस्या पनि कम हुन्छ। सामान्यतया साइकलमा एक जनामात्रै यात्रा गर्ने हुँदा कोरोना संक्रमण सर्ने जोखिम पनि कम हुने जनस्वास्थ्यविद् समीरणमणि दीक्षित बताउँछन्।
साइकल समाजले पनि लकडाउनपछि मानिसहरु निजी सवारीको रुपमा साइकललाई विकल्पको रुपमा लिएको बताएको छ।
‘लकडाउनपछि बाटोमा साइकल धेरै देखिन थालेका छन्’, समाजका अध्यक्ष रत्न श्रेष्ठले भने, ‘तर नेपालमा साइकलको लागि छुट्टै पूर्वाधार नहुँदा मानिस चाहेर पनि साइकल चढ्न वातावरण छैन।’
दोस्रो विकल्पमा ‘सेकेन्ड हेन्ड’ सवारी साधन
कोभिड १९ का कारण मानिसमा आर्थिक अभाव छ। जो मानिस निजी सवारी चढ्न चाहन्छ, उसले धेरै पैसा खर्च गर्नसक्ने स्थिति पनि छैन। सार्वजनिक यातायात चले पनि कोरोना संक्रमण फैलिने डरले निजी सवारीसाधन चढ्न मानिसहरुले चासो बढी देखाएको व्यवसायीले बताएका छन्।
नेपाल अटो मोबाइल रिकन्डिसन एसोसिएसनका अध्यक्ष दिनेश महतले मानिसमा आर्थिक चापको कारण नयाँ गाडीभन्दा रिकन्डिसन गाडी (सेकेन्ड हेन्ड) उपयुक्त हुने बताए।
‘लकडाउन खुकुलो भएसँगै कार्यालय खुलेका छन्। सार्वजनिक यातायात चलेको पनि छैन । आउजाउ गर्न समस्या भएको छ’, महतले भने, ‘यस्तो अवस्थामा सस्तो मूल्यमै पाउने सेकेन्ड हेन्ड सवारी उपयुक्त हुन्छ।’
एसोसिएसनका पूर्वअध्यक्ष बीएन पाठकले सेकेन्ड हेन्ड दुईपांग्रे साधनमा धेरैले चासो देखाएको बताए। ‘लकडाउनपछि व्यापार खुलेको छ । किन्ने धेरै नभएपनि चासो राख्ने धेरै छन्,’ पाठकले भने ‘आशा छ अबको आकर्षण सेकेन्ड हेन्ड दुईपांग्रे सवारीमा धेरै हुन्छ।’
नयाँ सवारीसाधन तेस्रो विकल्प
गत वर्ष चैत ११ देखि पूर्णरुपमा लकडाउन भए पनि असार १ देखि केही खुकुलो पारिएको छ। झण्डै तीन महिना ठप्प रहेको अटो व्यवसायलाई चलायमान बनाउन व्यवसायीले विभिन्न स्किम ल्याएका छन्।
लकडाउन खुकुलो भएसँगै अटो मोबाइल बिक्रेताहरुले शून्य प्रतिशत डाउन पेमेन्टदेखि आकर्षक नगद छुटसम्म ल्याएका छन्।
नाडा अटोमोबाइल एसोसिएसनका सचिव अनुप बरालले कोभिड १९ को संक्रमण फैलिरहेको अवस्थामा ग्राहकलाई आवतजावतको लागि केही सहज होस् भनेर सवारीसाधन बिक्रेताले स्किमहरु ल्याएको बताए।
‘सार्वजनिक यातायात चलेको पनि छैन चलेपनि कोभिड १९ को सक्रमण डर छ । मानिस निजी सवारी चढ्नमा रुची देखाएका छन्,’ बरालले भने ‘विक्रेताहरुले ल्याएको अफरमा मानिस आकर्षीत भएका छन् । यसले अटो व्यवसायलाई चलायमान बनाउने आशा छ।’
नाडाका दुईपांग्रे सवारी समितिका सभापति मिलन बाबु मल्लले कोभिड १९ भीडभाडमा बढी फैलिने जोखिम हुँदा मानिसहरु दुईपांग्रे सवारीसाधनमा आकर्षित भएको बताए।
उनले नेपालीहरुसँग चारपांग्रे गाडी किन्ने क्षमता कमजोर हुँदा दुईपांग्रे सवारीको व्यापार राम्रो हुने बताए।

प्रतिक्रिया