दक्षिणकाली नगरपालिका वडा नम्बर ३ का स्थानीयहरुले सडक मर्मत तथा कालोपत्र नभएको भन्दै विरोधस्वरुप सडकमै रोपाइँ गरेका छन्।
सडकमा कालोपत्र, कुलो आदि निर्माण नगरिएको भन्दै विरोधस्वरुप उनीहरुले सडकमै रोपाइ गरेका हुन्।
स्थानीयबासीका अनुसार २५ वर्षअघि निर्माण भएको सडक हालसम्म सुरुको दिनमा जस्तो थियो, त्यस्तै छ।
‘जुनसुकै दल जुनसुकै प्रतिनिधि आए पनि हाम्रो माग पूरा भएन’, स्थानीय प्रशान्त केसीले भने, ‘हामीले एम्बुलेन्स सहजै सञ्चालन होस् भनेर सडक कालोपत्रको माग गरेका हौं । बिरामी पर्दा समेत बिरामीलाई अस्पताल पुयाउनु नभ्याउने स्थिति छ ।’

विकास बजेट भने खर्च नहुने, गाउँका सडक भने बिग्रिरहने अवस्था भएको अर्का स्थानीय अनिल सिंह बस्नेतले बताए। उनले बिरामी, अशक्त आदिलाई अप्ठ्यारो पर्दा सहजै रुपमा गाडीमार्फत जान पाऊन् भनेर विरोध गरेको बताए।
सडक निर्माणको लागि नगर प्रतिनिधि तथा नगरपालिकालाई भने पनि त्यसको सुनुवाइ नभएको उनले गुनासो गरे।
जनसंख्या धेरै भएको अर्थात् बजार क्षेत्रमा विकासमा लागि परेको तथा अन्य क्षेत्रलाई बेवास्ता गरेको उनीहरुको आरोप छ।
करिब २५ जना स्थानीय युवा, वृद्ध, महिला लगायतका स्थानीय सहभागी विरोध कार्यक्रममा उनीहरुले सडकमा धान रोपौं कि माछा पालौं, जनप्रतिनिधको पाराले दुःख पाए साराले, बजेट खल्तीलाई हो कि सडकलाई लगायतका नारा लेखेको प्लेकार्ड समेत बोकेका थिए।
त्यसैगरी युवाहरुले सडकमा रोपाइँ गर्दै विरोध जनाए पनि नगरपालिकाले भने कहिले निर्माण गर्ने तथा रकम निकासा हुने भन्ने विषयमा कुनै निर्णय गर्नसकेको छैन।
नगरपालिकाले भने सो सडकलाई रकम अभावको कारण देखाउँदै चालू आर्थिक वर्ष २०७६÷७७ मा कुनै बजेट नपरेको बताएको छ। हाल दक्षिणकाली नगरपालिकाका मेयर नेपाली कांग्रेसका मोहन बस्नेत रहेका छन्।

प्रतिक्रिया