बुधबार चारवटा जहाजमार्फत करिब ६ सय ८५ जना नेपाली स्वदेश फर्किने भएका छन्। हिमालयका २, नेपाल वायुसेवा निगम र जजिरा एयरको जहाजले १/१ उडानमार्फत उनीहरु आउनलागेका हुन्।
हिमालय एयरलाइन्सले ढाका उडान गरेको छ। त्यहाँबाट १ सय १४ जना फर्किनेछन्।
हिमालयकै अर्को जहाजले काठमाडौंबाट १४ जनालाई सिंगापुर लगेर त्यहाँबाट फुल सिट क्षमतामा नेपालीलाई काठमाडौं ल्याउने भएको छ। करिब १५६ सिट क्षमता भएको ए ३२०ले फुल क्षमतामा नेपाली ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो।
यसअघि हिमालयले मंगलबार श्रीलंका र माल्दिभ्सबाट नेपाली उद्धार गरिसकेको छ।
सोमबार र मंगलबार उद्धार उडान गर्न नसकेको नेपाल वायुसेवा निगमले बुधबार बिहान १६ यात्रु बोकेर बैंकक उडान गरेको छ। निगमको ए–३३० वाइडबडी जहाजले २५० नेपाली ल्याउने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
निगमले आइतबार बंगलादेशबाट नेपालीको उद्धार गरेको थियो।
त्यस्तै, कुवेतमा अलपत्र परेका नागरिक लिएर चौथो जहाज आज काठमाडौं आउँदै छ। कुवेतबाट जजिरा एयरले १ सय ६८ जनालाई नेपाल ल्याउनलागेको हो। यसअघि उसले ३ उडानमार्फत ४ सय ४९ नेपाली ल्याइसकेको छ।
त्यस्तै बुधबार त्रिभुवन विमानस्थलमा मलेसियन एयरले कार्गो लिएर आएको छ। उक्त जहाजले ८ जना यात्रु मलेसिया लैजानेछ।
टिकट काट्न नसक्नेलाई सरकारी खर्चमा ल्याइने
मंगलबारको सर्वोच्च अदातलको आदेशअनुसार सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कोभिड १९ तथा लकडाउनका कारण अलपत्र परेका नेपालीलाई श्रमिक कल्याणकारी कोषमार्फत ल्याउने भएको छ।
सर्वोच्चले ‘श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगी फर्किनुपर्ने अवस्थामा रहेका तथा गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरुमध्ये पनि रोजगारीको प्रकृति, आयस्रोतका कारण आफ्नो खर्चमा स्वदेश फर्किन नसक्ने अवस्था भई अलपत्र परेका’ नागरिकलाई तत्काल उद्धार गर्न भनेको छ।
वैदेशिक रोजगारीमा जानेहरुले श्रम स्वीकृति लिँदा जम्मा गरेको ‘वैदेशिक रोजगारी कल्याणकारी कोष’को प्रयोग गर्न सकिने सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराई र हरि प्रसाद फुँयालको संयुक्त इजालासले आदेश दिएको छ।
कूटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने अवस्थामा रहेका भनी प्रमाणित भएका कामदारहरुलाई नेपाल ल्याई गन्तव्य स्थानसम्म पु¥याउनुपर्ने राज्यको दायित्व रहेको आदेशमा भनिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरेले टिकट काट्न नसक्नेलाई सरकारले उद्धार गर्ने बताए।
‘सर्वोच्चको चिठी भर्खरै मन्त्रालयमा आएको छ’, प्रवक्ता घिमिरेले भने, ‘सम्बन्धित पक्षसँग छलफल गरी श्रम स्वीकृति लिएर गएका तर कुनै आय स्रोतका कारण फर्किन नसक्नेलाई ल्याउन सुरु गर्छौं।’
वैदेशिक अलपत्र परेका नागरिकलाई नेपाल फर्काउन हवाइ तालिका तथा भाडा तोकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अप्ठ्यारोमा परेकाको हकमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै लागू हुने बताएको छ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यले मन्त्रालयमा बुधबार छलफल हुने र सरकारले तिर्ने शुल्कको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताए।
‘मन्त्रालयमा आज छलफल हुन्छ। वैदेशिक रोजगारीमा गएकाहरुको खर्च व्यहोर्ने विषयमा मन्त्रिपरिषदले निर्णय गर्नुपर्ला’, उनले भने।
यसअघि सरकारले ‘कोभिड १९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण आदेश’मार्फत कम्पनीले टिकटको पैसा नतिरे कामदार स्वयंले तिर्नुपर्ने निर्णय गरेको थियो।
सरकारले सामान्य समयभन्दा महंगो भाडादर तोकेको भन्दै आलोचना भइरहेको छ। वैदेशिक रोजगारीमा गई दुःख पाएका नागरिकलाई सरकारी खर्चमा उद्धार गर्नुपर्ने आवाज उठेको थियो।
उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।
उक्त उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा पिसिआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको तालिका परिवर्तन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । पिसिआर रिपोर्ट समयमा आउन नसेकेको तथा अन्य प्राविधिक कारणले गर्दा सम्बन्धित देशका नेपाली दूतावासबाट अनुरोध भएकाले पूर्वनिर्धारित उडान तालिकामा केही परिवर्तन गरिएको हो ।
निगमले यसअघि जुन १४ देखि २५ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको थियो । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । जुन १५ र १६ को उडान रद्द भएको थियो । पछिल्लो पटक निगमले उडानको नयाँ कार्यतालिका बनाएको छ ।
निगमको उडान तालिकाअनुसार जुन १७ मा थाइल्याण्डको बैंकक रहेको छ । त्यसैगरी जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९मा जापानको नारिता र बुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।
त्यसैगरी जुन २१ मा ढाका, दक्षिण कोरिया र बहराइन जुन २२ मा अष्ट्रेलियाको सिङ्नी र बैंकक उडान हुनेछ । त्यस्तै जुन २३ मा नारिता र माले, जुन २४ मा नारिता साउदी अरबको जेद्दा, जुन २५ मा बहराईन, जुन २६ मा मेलबर्न, जुन २७ मा मेलबर्न, जुन २९ मा तेल अभिव, साइप्रस, जेद्दा र जुन ३० मा साइप्रसका लागि उडान निर्धारण गरिएको छ ।
दूतावाससँगको समन्वयमा हुने चार्टर्ड उडानमा यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेटेटिभ वा कोभिडको लक्षण नभएको स्वास्थ्यकर्मीको प्रमाणित प्रमाण पेश गरेको हुनुपर्नेछ । चार्टर्ड उडान यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुनसक्ने र जहाजमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया