ad ad

कारोबार


साना सहरमा इन्टरनेट माग बढ्यो, जोड्नलाई मोडेम छैन

साना सहरमा इन्टरनेट माग बढ्यो, जोड्नलाई मोडेम छैन

नेपालखबर
जेठ ३२, २०७७ आइतबार १०:३९,

रुपन्देही सैनामैनास्थित रामापुरमा बस्ने विनिषा न्यौपानेको घरमा केही दिनअघि इन्टरनेट जोडिन्।

कोरोना भाइरस संक्रमण बढ्नथालेपछि सरकारले चैत १२ देखि सुरु गरेको लकडाउनका कारण उनको कलेज बन्द थियो।

बुटवल अक्सफोर्डमा पढ्ने उनको कलेजले अनलाइन कक्षा सुरु गर्‍यो।

मोबाइलमा प्याक लिएर मात्र अनलाइन कक्षा नहुने भयो। आमाले विनिषाकै लागि पनि इन्टरनेट जोडिदिनुपर्ने भयो। त्यही परिस्थितिबीच विनिषाकै लागि भनेर बाबुआमाले इन्टरनेट जोडिदिए।

यसरी इन्टरनेटको नयाँ लाइन जोड्ने उनी मात्र होइनन्। पछिल्लो समय साना सहर तथा ग्रामीण क्षेत्रमा इन्टरनेट जोड्नेको संख्या वृद्धि हुँदै गएको छ।

स्कुल तथा कलेजले अनलाइन कक्षा सुरु गरेपछि इन्टरनेट जोड्नेको संख्या बढ्न थालेको छ।

नेपाल इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले साना सहर र केही ग्रामीण क्षेत्रमा फाट्टफुट्ट इन्टरनेट जोड्ने माग बढेको बताए।

‘ठूलो सहरमा पहिले नै इन्टरनेट जोडिएको छ’, भट्टले भने, ‘इन्टरनेट पुगेको साना सहर ग्रामीण क्षेत्रतिर केही संख्यामा माग आएको छ।’

सहरी क्षेत्रमा भने पहिलेदेखि नै भएकाले अनलाइन कक्षाकै कारण माग नबढेको बरु घटेको उनले बताए।

लकडाउनको अवधि लामो समय भएकाले इन्टरनेट विस्तारमा केही समस्या भएको छ।

इन्टरनेट जोड्नको लागि चाहिने बक्स (मोडेम)को अभाव हुँदै गएको भट्टले बताए।

चीनबाट आउने ती मोडेम लकडाउन सुरु भएपछि सहज रुपमा आउनसकेका छैनन्। अर्डर पनि नगएको र अर्डर नलिएपछि आयात हुन नसकेको हो।

‘अहिले हामीसँग डिभाइसको ठूलो अभाव छ’, भट्टले भने, ‘यसले गर्दा पनि चाहेजति इन्टरनेट विस्तार गर्न सकिएको छैन।’

त्यस्तै, लकडाउनका कारण कामदारको समेत अभाव रहेको उनले बताए। कोरोना संक्रमणले गर्दा कामदार काममा जानसकेका छैनन्।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार १७ प्रतिशतमा मात्र फिक्स्ड (तार र ताररहित) इन्टरनेटको पहुँच छ।

फिक्स्ड इन्टरनेटको पहुँच हेर्ने हो भने आम उपभोक्तामा निकै कम मात्र छ। प्राधिकरणको विवरणमा उल्लेख भएअनुसार २०७६ पुस महिनासम्म १६ प्रतिशत फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको पहुँच छ।

अझ, ताररहित फिक्स्ड ब्रोडब्यान्ड त जम्मा ०.७६ प्रतिशतको पहुँचमा छ।

फिक्स्ड इन्टरनेटको विस्तार पनि धिमा गतिमा छ। गत एक वर्षको अवधिमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट विस्तार पाँच प्रतिशतले वृद्धि भएको छ।

प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष पुस महिनामा फिक्स्ड ब्रोडब्यान्डको पहुँच ११ प्रतिशत रहेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकमा १ सय २२ वटा इन्टरनेट सेवा प्रदायकले सञ्चालनको अनुमति लिइसकेका छन्। फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटमा एक ग्राहकबराबर ४ जना उपभोक्ता रहने मान्यता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .