सरकारले होटललाई क्वारेन्टिन बनाउने भने पनि व्यवसायीसँग छलफल नगर्दा व्यवसायी अन्योलमा परेका छन्।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले होटललाई क्वारेन्टिन बनाउने भने पनि आफूहरुसँग छलफल नगरेको व्यवसायीले गुनासो गरेका हुन्।
व्यवसायीहरु होटललाई क्वारेन्टिन बनाउन सकिने भन्दै पर्यटन विभागसँग छलफलमा छन्। विभागले कति होटललाई क्वारेन्टिन बनाउन सकिन्छ र होटलमा बस्दा कति लागत लाग्ने भन्ने व्यवसायीसँग छलफल गरे पनि होटलका मापदण्ड के हुने भन्ने विषय अन्योलमै छ।
होटल एसोसिएसन नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले मापदण्डको विषयमा सरकारले छलफल नगर्दा अन्योल रहेको बताए।
‘सरकारले बाहिरबाट ल्याउनेलाई सार्वजनिक ठाउँमा र होटलमा बस्न चाहनेलाई होटलमा बस्नसक्ने तयारी गरेको छ रे’, शाहले भने, ‘तर होटललाई कसरी प्रयोग गर्ने, मापदण्ड के–के हुने भन्ने विषयमा सीसीएमसीले हामीसँग छलफल गरेको छैन।’
हानले सरकार र व्यवसायीहरु भएको कार्यदलको माग गरेको भन्दै उनले सरकारलाई व्यवसायीसँग मिलेर छिटो अन्योल हटाउन आग्रह गरे।
‘सदस्य होटलहरुले कसरी राख्ने भन्दै सोध्नुहुन्छ’, उनले भने ‘होटलहरुका लागि पनि पूर्वतयारीको समय चाहिन्छ। हामीले लागू गर्नसक्ने स्वास्थ्य सुरक्षा मापदण्ड छिट्टै सार्वजनिक गर्नुपर्यो।’
हानले अहिले पर्यटक स्तरका होटलले सिंगलको लागि २ हजार र डबलको लागि ३ हजार शुल्क लिने प्रस्ताव पर्यटन विभागसँग गरेका छन्।
‘हामीले व्यापार गर्न खोजेका होइनौँ। खानाको मेन्युअनुसार मूल्य निर्धारण हुन्छ’, शाहले नेपालखबरसँग भने, ‘होटलमा आवश्यक पर्ने स्यानिटाइज, डिस्इन्फेक्सन, पीपीई, मास्कजस्ता कुरा सरकारले उपलब्ध गराए त्यो मूल्य पनि घट्छ।’
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आफूले होटल व्यवसायीसँग छलफल गरिरहेको बताए।
‘मैले गर्नुपर्ने समन्वय गरिरहेको छु’, उनले भने, ‘सीसीएमसीले अध्ययन गरिरहेको छ। छिट्टै निष्कर्ष निस्किन्छ।’
घिमिरेका अनुसार होटलको मेन्यु के हुने, होटल कसरी सञ्चालन गर्ने, स्वस्थ्य सुरक्षा कसरी व्यवस्था गर्ने भन्ने सीसीएमसीले अध्ययन गरिरहेको छ।
व्यवसायीहरुको अन्योल केमा?
लकडाउनपछि कसरी होटल सञ्चालन गर्ने भनेर पर्यटन बोर्डले कार्यविधि तयार गरिरहेको छ। त्यसले अझै अन्तिम रुप पाएको छैन।
होटल व्यवसायीले होटलले कोभिड १९ जाँच गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै होटलमा बस्न दिनुपर्ने बताएका छन्। तर सरकारले कस्ता मानिस राख्छ भन्ने कुनै टुङ्गो लगाएको छैन।
अधिकांश होटल बस्तीको बीचमा छन्। होटलनजिक बस्ने बासिन्दामा त्रास पैदा भइसकेको छ। स्थानीय बासिन्दालाई सरकारले आश्वस्त पार्छ कि पार्दैन भन्नेमा व्यवसायीले प्रश्न उठाउँदै आएका छन्।
अहिले देशका विभिन्न ठाउँका क्वारेन्टिनबाट मानिस भागिरहेका छन्। होटलबाट पनि भाग्न सक्छन्। त्यसको सुरक्षा कसरी हुन्छ?
होटलहरु ६ महिना बन्द गर्ने भन्दै कर्मचारीलाई उनीहरुले विदा दिइसकेका छन्। तसर्थ सीमित कर्मचारी मात्रै होटलमा आउँछन्। होटललाई क्वारेन्टिन बनाएपछि उनीहरु पनि आफ्नो घर फर्किन पाउँदैनन्। तिनको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ।
‘हामीले बुझेअनुसार कोठामै खाना पुर्याइन्छ बाहिर आउन पाउँदैन। खाना त पकाउँछौं तर डेलिभर कसले गर्ने? हाम्रा कर्मचारी त डराउँछन्’, शाहले भने, ‘विश्व स्वास्थ्य संगठनका अनुसार पीपीई, मास्कलगायतका मापदण्ड पालना गर्नुपर्छ। कसरी सेवा दिने भन्ने स्पष्ट कार्यविधि नै छैन’, एक होटल सञ्चालकले भने।
व्यवसायीलाई भोलिको व्यापारमा असर गर्ने डर
होटल व्यवसायीहरु बन्द रहेका होटल क्वारेन्टिन बनाउँदा सरकारलाई सहयोग पनि हुने कामविहीन बनेका व्यवसायीले काम पनि पाउने हुँदा खुसी छन्। चैतदेखि व्यवसाय ठप्प हुँदा कर्मचारीलाई उनीहरुले तलब दिनसकेका छैनन्।
होटललाई क्वारेन्टिन बनाउँदा होटल चल्ने र केही कर्मचारीलाई तलब दिन पनि सकिने विश्वास उनीहरुको छ।
तर होटलमा बसेका सेवाग्राहीमा कोरोना पोजेटिभ देखियो भने होटल सिल हुने र होटलको सुरक्षामा प्रश्न उठ्ने डर पनि सँगसँगै छ। आज होटललाई क्वारेन्टिन बनाउँदा भोलि क्वारेन्टिन बनाएको होटल भनेर सेवाग्राही आएनन् भने के गर्ने?
‘क्वारेन्टिनमा बसेका आफ्नो गन्तव्यमा फर्किसकेपछि राज्यको निकायले यो होटल सुरक्षित छ वा कोरोनामुक्त छ भनेर भूकम्पपछि हरियो स्टिकर दिएजसरी दिनुपर्छ’, शाहले भने ‘ लकडाउन खुलेसँगै नेपाली र विदेशी पर्यटक घुम्न थाल्छन्। होटल सुरक्षित छ भन्ने सन्देश नदिए त कोही बस्न तयार नै हुँदैनन्।’

प्रतिक्रिया