कारोबार


गण्डकी विकास बैंकलाई प्राप्ति गर्दै मेगा बैंक, चुक्ता पुँजी १३ अर्ब १३ करोड

गण्डकी विकास बैंकलाई प्राप्ति गर्दै मेगा बैंक, चुक्ता पुँजी १३ अर्ब १३ करोड

नेपालखबर
जेठ २१, २०७७ बुधबार ८:५१,

मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारणसभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।

बुधबार काठमाडौंमा भएको विशेष साधारणसभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न गरेको प्रस्ताव पारित भएको हो।

मेगा बैंक र गण्डकी विकास बैंकको सेयर आदानप्रदान अनुपात १ः१ रहेको छ। यो प्राप्तिपश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत् वृद्धि भई देशकै एक ठूलो ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए।

anupama khunjeli mega 55

साधारणसभामा बोल्दै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अभैm बढ्ने बताइन्।

ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि इयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्तिपश्चात् ५८ जिल्लामा फैलिने जानकारी दिइन्। यसैगरी, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने सीईओ खुञ्जेलीले बताइन्।

mega bank sadharan sava

उनका अनुसार, गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी हुने भएको छ।

यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन्।

यसैबीच, पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबारकै दिन विशेष साधारणसभा आयोजना गरेको छ। साधारणसभाले गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ।

गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले मेगासँग प्राप्तिका लागि पेश गरेको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो। ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ।

दुवै बैंकको विशेष साधारणसभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ। यसै आर्थिक वर्षभित्र गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad