अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताएका छन्। उनले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्ने बताए।
राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भने, ‘मलाई बिटक्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा विल्कुलै विश्वास छैन, र यो मुद्रा होइन। यस्ता मुद्राको मूल्य निकै अस्थिर र अनुमानयोग्य छैन।’ विद्युतीय प्रकृतिको भएकाले लगभग पत्ता लगाउन नसकिने यस्ता क्रिप्टोकरेन्सीले अवैध क्रियाकलापलाई प्रश्रय दिनसक्ने पनि उनले बताए।
क्रिप्टोकरेन्सी विश्वका केन्द्रीय वा बैंकिङ प्रणालीमा आबद्ध नभई इन्टरनेटमार्फत एकापसमा गरिने कारोबार हो र यो एक किसिमको डिजिटल मुद्रा हो।
सन् २००९ मा बिट्क्वाइन प्रारम्भ भएपछि क्रिप्टोकरेन्सी विश्वभर तीव्रगतिमा फैलिएको छ। फेसबुकले पनि गत महिना आफ्नै लिब्रा नामको क्रिप्टो मुद्रा प्रचलनमा ल्याउने घोषणा गरेपछि यसले विश्वका बैंकिङ नियामकहरुमाझ अझ चर्चा पाएको छ।
करिब दुई अब प्रयोगकर्ता भएको फेसबुकले सन् २०२० मा लिब्रालाई अरु साझेदार समेतको सहकार्यमा प्रचलनमा ल्याउने घोषणा गरेको छ। यसले विश्वको वित्तीय कारोबारलाई नै प्रभावित तुल्याउने अनुमान गरिएका छन्। तर राष्ट्रपति ट्रम्पले फेसबुक र अरु कम्पनीले क्रिप्टोकरेन्सी प्रारम्भ गर्दा अमेरिकी र अन्तर्राष्ट्रिय बैंकिङ नियमन प्रणाली दुबैलाई स्वीकार गर्नुपर्ने चेतावनी दिए। ‘संयुक्तराज्य अमेरिकामा एउटा मात्र वास्तविक मुद्रा (अमेरिकी डलर) छ र यो विगतभन्दा बढी मजबुत छ।’
विश्वका प्रमुख औद्योगिक मुलुकहरुको समूह जी–७ का अर्थमन्त्रीहरुको फ्रान्समा बस्न लागेको बैठकमा क्रिप्टोकरेन्सीका बारेमा पनि छलफल हुने तयारी हुँदै छ। कतिपय अमेरिकी नेताहरुले फेसबुकको लिब्रा परियोजनालाई पूर्ण रुपमा बन्देज लगाउनुपर्ने माग समेत गर्न थालेका छन्। फेसबुकले मानिसका दैनिक जीवनका आवश्यकता पूरा गर्न लिब्रा सार्वजनिक गर्न चाहेको जनाएको छ । विकासशील मुलुकहरुमा भने लिब्रालाई बैंकिङ, क्रेडिट कार्ड र ई–कमर्सका रुपमा पनि प्रयोग गर्ने फेसबुकको तयारी छ।

प्रतिक्रिया