कारोबार


कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा

कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा

रासस/एएफपी
साउन ४, २०८३ सोमबार १६:११, काठमाडौँ

संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ। 

यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ।

गत सातादेखि अमेरिका र इरानबीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढाएको हो।

अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवैको मूल्य गत साताको अन्त्यमा चार प्रतिशतभन्दा बढीले बढेको थियो । सोमबार ब्रेन्टको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च विन्दुमा पुगेको छ।

यो वृद्धि अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि तथा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेपछि भएको हो। 

बजारमा बढ्दो भू–राजनीतिक तनावसँगै लगानीकर्ताहरू आर्थिक दृष्टिकोणबारे अन्योलमा छन्। उच्च तेल मूल्यले मुद्रास्फीति फेरि बढ्न सक्ने र केन्द्रीय बैङ्कहरूको ब्याजदर कटौतीको योजनामा असर पर्न सक्ने चिन्ता बढाएको छ।

एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसले भने, ‘बजारले एकैपटक दुई विपरीत अवस्थाको सामना गरिरहेको छ। एकातिर भू–राजनीतिक जोखिमले तेलको मूल्य बढाइरहेको छ भने अर्कोतर्फ अमेरिकी मुद्रास्फीति घट्दै गएको र श्रम बजार नरम बन्दै गएकाले व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना कम देखिन्छ।’

उनका अनुसार तेलको मूल्य लामो समयसम्म उच्च रहेमा त्यसले घरायसी खर्च घटाउन र आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्छ। एसियाली शेयर बजारमा सोमबार मिश्रित कारोबार भयो। चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन दिन नयाँ उपाय सार्वजनिक गर्ने अपेक्षाले हङकङ र साङ्घाईका बजारमा उल्लेखनीय वृद्धि भएको छ। हङकङको सूचकाङ्क दुई प्रतिशतभन्दा बढी र साङ्घाईको सूचकाङ्क एक दशमलव ३२ प्रतिशतले उकालो लागेको छ। ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि बढेका छन्।

यता सियोल, सिड्नी र वेलिङ्टनका बजारमा भने सावधानीपूर्ण कारोबार देखिएको छ । गत शुक्रबार वाल स्ट्रिटका तीनवटै प्रमुख सूचकाङ्क गिरावटमा बन्द भएपछि लगानीकर्ताहरू अझ सतर्क बनेका छन्।  यसैबीच, भू–राजनीतिक तनावका बाबजुद अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य शून्य दशमलव ४० प्रतिशतले घटेको छ भने चाँदीको मूल्य एक प्रतिशतले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad