कारोबार


राेप्नु अघि नै ताेकियाे धानकाे मूल्य: किसानलाई कम्तिमा २० प्रतिशत नाफा

राेप्नु अघि नै ताेकियाे धानकाे मूल्य: किसानलाई कम्तिमा २० प्रतिशत नाफा

नेपालखबर
जेठ १४, २०७७ बुधबार १६:२१,

नेपालमा पहिलो पटक बाली लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ। संरक्षित कृषि, सुनिश्चित बचत अन्तर्गत बाली लगाउनु पूर्व नै समर्थन मूल्य तोक्ने कुरालाई कार्यान्वयन गर्दै यस वर्ष लगाइने धानको मूल्य तोकिएको कृषि विकास तथा पशुपन्क्षी मन्त्रालयले जनाएको छ।

यस वर्ष लगाइने मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मुल्य २ हजार ७ सय ३५ तोकिएको छ।

खेतीको सबै लागत खर्चमा २० प्रतिशत नाफा र १० प्रतिशत ढुवानी भाडा जोडेर उक्त मूल्य तोकिएको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानाकारी गराए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य तोकेको हो। उद्योग वाणिज्य मन्त्रालयले मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने छ।

घनश्याम भूसाल कृषि मन्त्री भएपछि किसानलाई निश्चित नाफा (बचत) ग्यारेन्टी हुनेगरी मुख्य बाली वस्तुको न्युनतम समर्थन मूल्य तोक्ने र बजारमा बिक्री नभए सरकारले खरिद गर्ने व्यवस्था गरेर कृषिलाई संरक्षित र किसानलाई नाफा हुने वातावरण बनाउने बताउँदै आएका थिए।

यो उनको योजना कार्यान्वयन हो।

‘हामीले बाली लगाउनुपूर्व न्युनतम समर्थन मुल्य तोक्ने कामको सुरुवात गरेका छौं, कृषि क्षेत्रका विज्ञ, अर्थशास्त्री, कृषिमा चासो राख्ने र किसानहरु सबैले यो अत्यन्तै आवश्यक र सम्भव काम हो भनेका छन्’ भूसालले भने।

यस कार्यलाई कृषिमा आमूल परिवर्तनको संकेतको रुपमा हेरिएको छ।

भूसाल थप्छन्, ‘केही आग्रही र कृषि अव्यवस्था भित्र रमाउन बानी परेकाहरुले यसको विरोध पनि गर्न सक्छन्। तर यो आजको कृषि र किसानलाई बचाउन गर्नै पर्ने काम हो।’

अब सबै मुख्य बाली वस्तुको क्रमशः खेती अघि नै न्युनतम समर्थन मुल्य तोकिने मन्त्रालयले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .