ad ad

कारोबार


लकडाउनले बचायो इन्धन आयातमा खर्च हुने १९ अर्ब ९ करोड

लकडाउनले बचायो इन्धन आयातमा खर्च हुने १९ अर्ब ९ करोड

सन्तोष न्यौपाने
जेठ १३, २०७७ मंगलबार ६:४१,

गत दुई महिनादेखि जारी लकडाउनले समग्र अर्थतन्त्रलाई नकारात्मक असर गरिरहेको बेला इन्धन आयातमा विदेशिने अर्बौं रुपैयाँ भने बचत भएको छ। लकडाउन जारी रहेको चैत र वैशाख महिनामा इन्धन आयातमा खर्च हुने १९ अर्ब रुपैयाँ बाहिरिनबाट बचेको हो।

गत आर्थिक वर्ष २०७५/०७६ र चालू आर्थिक वर्ष २०७६/०७७ को दुई महिना चैत र वैशाखमा डिजेल, पेट्रोल, हवाइ इन्धन र मट्टितेलको आयातको तुलना गर्दा १९ अर्ब रुपैयाँ बचत हुन गएको हो।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको चैत र वैशाख महिनामा २९ अर्ब ९५ करोड ८० लाख ४५ हजार रुपैयाँबराबरको डिजेल, पेट्रोल, हवाइ इन्धन र मट्टितेल आयात भएको छ।

जब कि चालू आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ८६ करोड ४५ लाख ४ हजार रुपैयाँबराबरको सोही इन्धन आयात भएको छ।

गत आर्थिक वर्षको चैत–वैशाख र चालू आवको चैत–वैशाखमा आयात भएको इन्धनको मूल्यलाई तुलना गर्दा १९ अर्ब ९ करोड ३५ लाख ४१ हजारले कमी आएको हो।

चालू आर्थिक वर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन सुरु भएको थियो। लकडाउन सुरु भएसँगै फाट्टफुट्टबाहेक यातायातका साधन चल्नसकेका छैनन्। हवाइ यातायात ठप्प छन्।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धन आयात कमी हुँदा राष्ट्रले पाउने राजस्व गुम्ने बताए।

‘अहिले जसरी इन्धन आयात घटेको छ, यसले दैनिक २० करोड राजस्व सरकारको गुमिरहेको छ’, नेपालखबरसँग पौडेलले भने, ‘निगमलाई नाफा मात्र कम हुने हो, नोक्सान खासै छैन।’

इन्धनको राजस्व प्रतिलिटरमा हिसाब हुन्छ। जसले गर्दा इन्धनको मूल्य थप घट हुँदा राजस्वमा असर गर्दैन।

एक पटक इन्धन आयात झण्डै ७० प्रतिशतले घटेकोमा अहिले केही बढेको पौडेलले बताए।

लकडाउनकै अवधिमा आवश्यक सवारीसाधन, अत्यावश्यक खाद्यान्न ढुवानी भइरहेको छ भने केही ठूला आयोजनाको काम पनि भइरहेको छ। यी ठाउँमा केही इन्धन खपत भइरहेको छ।

चालू आर्थिक वर्षको पहिलो दश महिनामा ४ लाख ४५ हजार ८ सय ४५ केएल पेट्रोल आयात भएको थियो। जसको मूल्य २५ अर्ब ७९ करोड ३८ लाख ४२ हजार रुपैयाँ परेको छ।

त्यस्तै यस अवधिमा १ लाख ३५ हजार ५ सय ७६ केएल लिटर तेल गर्न ८ अर्ब ६० करोड ४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ। ११ लाख ९८ हजार ६ सय ३५ लिटर डिजेल आयात गर्दा ७५ अर्ब ७९ करोड ९९ लाख ११ हजार खर्च भएको छ।

गत आर्थिक वर्षको दश महिनामा ९५ अर्ब ६ करोडको डिजेल, २८ अर्ब ९६ करोडको पेट्रोल, ११ अर्ब ५८ करोडको हवाइ इन्धन र १ अर्ब ३६ करोड रुपैयाँभन्दा धेरैको मट्टितेल आयात भएको थियो।

लकडाउनमा एक खर्बको आयात, ७ अर्बको निर्यात
मुलुक लकडाउनको अवस्थामा रहेको अवधिमा एक खर्बभन्दा धेरै रुपैयाँको वस्तु आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चैत र वैशाख महिनामा एक खर्ब ८९ करोड रुपैयाँभन्दा धेरैको आयात भएको छ।

विभागको तथ्यांकअनुसार चालू आवको पहिलो आठ महिनामा ९ खर्ब २४ अर्ब २४ करोड २६ लाखभन्दा धेरैको आयात भएकोमा दश महिनाको अवधिमा १० खर्ब २५ अर्ब १३ लाख रुपैयाँ आयात भएको छ।

दश महिनाको अवधिमा मुलुकको आयात १२.९९ प्रतिशतले घटेको छ। गत वर्षको दश महिनामा ११ खर्ब ७८ अर्बको आयात भएकोमा चालू आवको सोही अवधिमा १० खर्ब २५ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ।

लकडाउनको अवधिमा ७ अर्ब १५ करोड ६८ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। चालू आर्थिक वर्षको पहिलो आठ महिनामा ७४ अर्ब ९० करोडको निर्यात भएकोमा दश महिनामा ८२ अर्ब ६ करोड पुगेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको दश महिनामा ४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .