नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम व्यवसायी र पेट्रोल पम्पमा कार्यरत सबै मजदुरको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न माग गरेको छ।
एसोसिएसनले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमलाई लकडाउन अवधिभर सबै कर्मचारीको तलब निगमले तिरिदिनुपर्ने समेत जनाएको छ।
एसोसिएसन अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जारी गरेको विज्ञप्तिमा लकडाउनले व्यवसायमा प्रत्यक्ष प्रभाव परेकोले तलब भुक्तान गर्न नसकिने जनाइएको छ।
त्यस्तै निगमले ३ वर्षसम्म व्यवसायीसँग लिने नवीकरणलगायतका अन्य शुल्कहरु मिनाहा गर्ने व्यवस्था हुनुपर्ने, पेट्रोल पम्पमा लगानी भएका बैंकहरुको कर्जाको ब्याज ६ महिनासम्म मिनाहा गरिनुपर्ने, किस्ता भुक्तानी गर्ने अवधि बढाउन आवश्यक पहल गर्नुपर्ने र अन्य व्यवसायसरह पुनर्कर्जाको व्यवस्थाका लागि आवश्यक पहल गर्नुपर्ने लगायतका ८ बुँदे माग अघि सारिएको छ।



प्रतिक्रिया