सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा देशकै सबैभन्दा ठूलो प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले पाँच वटा साझेदार कम्पनी छनोट गरेर सम्झौताका लागि पत्राचार गरेको छ।
कम्पनीले सुदूरपश्चिममा ‘पश्चिम सेती (बझाङ-वनलेक-दोदोधरा) ४०० केभी प्रसारणलाइन’ निर्माणका लागि पाँच वटा कम्पनी छनोट गरेको हो। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले २०८२ पुस २३ गते स्वदेशी लगानीकर्ताबाट प्रस्ताव आह्वान गरेको थियो।
प्रारम्भिक चरणमा आठ कम्पनीको आशयपत्र छनोट गरिएको थियो। त्यसमध्ये, प्राविधिक तथा वित्तीय मूल्यांकनपछि पाँच वटा कम्पनी छानेर सम्झौताको लागि पत्राचार गरिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।
‘सम्झौताको लागि आउनु भनेर गत बुधबार सबै कम्पनीलाई पत्राचार गरेका छौँ। पाँट वटै कम्पनीसँग वैशाख महिनाभित्रै सम्झौता सम्पन्न हुन्छ,’ श्रेष्ठले भने।
छनोट भएका सरकारी स्वामित्वको कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेड, चैनपुर सेती जलविद्युत कम्पनी लिमिटेड छन् भने निजी क्षेत्रका कम्पनीमा समृद्धि इनर्जी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड र सिउरी न्यादी पावर लिमिटेड रहेका छन्।
आयोजना कार्यान्वयनका लागि छुट्टै स्पेसल पर्पज भेहिकल (एसपीभी) कम्पनी स्थापना गरिनेछ। करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण रहने लगानी मोडालिटी बनाइएको छ।
छनोट भएका पाँच वटै कम्पनीसँग सम्झौता भएर एसपीभी स्थापना भएपछि ठेक्का प्रक्रिया सुरु गर्ने लक्ष्य राखिएको श्रेष्ठले बताए। आयोजना निर्माणको लागि पूर्व तयारीको काम सक्न अझै एक वर्ष लाग्ने उनले बताए।
इक्विटी संरचनाअनुसार, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको २६ प्रतिशत, चिलिमेको १२.५ प्रतिशत र चैनपुर सेतीको १२.५ प्रतिशत लगानी रहनेछ। यसरी कुल ५१ प्रतिशत हिस्सा सरकारी पक्षको हुनेछ।
बाँकी ४९ प्रतिशत लगानी निजी क्षेत्रबाट हुनेछ। जसमा समृद्धि इनर्जीको ३५ प्रतिशत, ङादी ग्रुप पावरको ७.१० प्रतिशत र सिउरी न्यादी पावरको ६.९० प्रतिशत हिस्सा रहने तय भएको सीईओ श्रेष्ठले जानकारी दिए।
करिब १४५ किलोमिटर लम्बाइको यस प्रसारण लाइनमार्फत दुई हजार पाँच सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ। सुदूरपश्चिम प्रदेशका विभिन्न रणनीतिक ठाउँहरू जोड्ने गरी प्रसारण लाइन डिजाइन गरिएको श्रेष्ठले बताए। यो आयोजनालाई भविष्यमा निर्माण हुने ठूला जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रमुख आधारका रूपमा हेरिएको छ।
प्रसारण लाइन बझाङको चैनपुर सबस्टेशनबाट सुरु भई डोटीको बनलेक हुँदै कैलालीको दोदोधारा सबस्टेशनसम्म पुग्नेछ। चैनपुरमा १६० र बनलेकमा ३१५ मेगाभोल्ट एम्पियर क्षमताका सबस्टेशन निर्माण गरिने योजना छ।
यो प्रसारण लाइनमा करिब ३० वटा जलविद्युत् आयोजना जोडिने श्रेष्ठले बताए। त्यसमध्ये आठ वटा आयोजनाले ग्रिड कनेक्सन सम्झौता गरिसकेका छन्।
त्यसमध्ये निर्माणाधीन ८०० मेगावाटको पश्चिम सेती, २१६ मेगावाटको बझाङ अपर सेती, २१० मेगावाट चैनपुर सेती, चिलिमेले बनाउँदै गरेको ८७ मेगावाट सेती नदी-३ यो प्रशारण लाइनमा जोडिने छन्। त्यसबाहेक, प्रस्तावित एक हजार ९०२ मेगावाटको मुगु कर्णाली आयोजनालाई पनि यो प्रसारण लाइनमा जोड्न सकिनेछ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले यसअघि पनि सार्वजनिक-निजी साझेदारी मोडलमै तमोर-ढुंगेसाँघु २२० केभी (करिब ४५ किलोमिटर) प्रसारण लाइन निर्माण गरिरहेको छ। तर पश्चिम सेती प्रसारण लाइन लम्बाइ र क्षमताका हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना हुने बताइएको छ।
यो आयोजना सफलतापूर्वक कार्यान्वयन भएमा सुदूरपश्चिम क्षेत्रमा उत्पादन हुने ठूलो परिमाणको विद्युत् राष्ट्रिय ग्रिडमा समेट्न सहज हुने श्रेष्ठले बताए।
Shares

प्रतिक्रिया