लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेसन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को स्वामित्वमा रहेको करिब ४ रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएसँगै प्रक्रिया पूरा भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जग्गा प्राप्तिको पहल लिएका थिए। काठमाडौं र ललितपुरमा विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउन उच्च क्षमताको जीआईएस सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको थियो। तर, जग्गा प्राप्त नहुँदा चार वर्षभन्दा बढी समयदेखि परियोजना रोकिएको छ।
एसियाली विकास बैंक (एडीबी)को करिब २ अर्ब रुपैयाँ ऋण लगानीमा सबस्टेशन निर्माण हुनेछ। भक्तपुरको ठिमीबाट आउने भूमिगत विद्युत् प्रसारण लाइन बालकुमारीस्थित जीआईएस सबस्टेसनमा जोडिने गरी परियोजानको तयारी गरिएको छ।
त्यहाँबाट टेकुस्थित सबस्टेशनमा जोड्ने प्राधिकरणको तयारी छ। उक्त सबस्टेसनको निर्माण सम्पन्न भएपछि आगामी ५ वर्षसम्मको विद्युत् माग पूरा गर्न सहज हुने विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन्।
केयूकेएलले बालकुमारीमा स्थापना गर्ने ढल प्रशोधन केन्द्रलाई आवश्यक पर्ने विद्युत् निःशुल्क दिने र त्यसवापत प्राधिकरणले २५ वर्षसम्मका लागि ३ रोपनी १३ आना २ पैसा जग्गा उपभोग गर्ने सहमति भएको छ। अब सबस्टेसन निर्माणका लागि बोलपत्र आह्वान गरिने बताइएको छ।
Shares

प्रतिक्रिया