संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम सञ्चालक समितिमा चार सदस्य नियुक्तिका दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले आज (वैशाख १२ गते) सूचना प्रकाशन गरी नेपाल वायुसेवा निगम सञ्चालक समितिमा रिक्त चार सदस्य पदका लागि आवेदन खुलाएको हो।
मन्त्रालयले अहिले रिक्त ३ र आगामी ६ महिनाभित्र खाली हुने १ गरी ४ सदस्य पदमा नियुक्ति गर्न लागेको हो।
यसका लागि मन्त्रालयले जारी गरेको सूचना फेसबुकमा राख्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री गनेस (खडकराज) पौडेल (गनेस)ले लेखेका छन्, ‘इतिहासले अति अब्बल योग्यता र उच्चतहको इमानदारी मागेको छ। के तपाईंसँग दुइटै कुरा छन्? अप्लाई गर्नुस्। ऐनअनुसार यी ४ मध्येबाट पनि सर्वोत्कृष्ट एक जनाले नेपाल वायु सेवा निगमको नेतृत्व सम्हाल्ने अवसर पाउने छन्।’
सूचनाअनुसार सञ्चालक समितिको सदस्य पदका लागि वाणिज्य, अर्थ वा लेखाशास्त्रमा ख्याति प्राप्त वा उडड्यन तथा पर्यटन प्रवर्द्धनसम्बन्धी क्षेत्रमा अनुभव प्राप्त व्यक्ति हुनुपर्नेछ।
नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ मा निगमको सञ्चालक सदस्यको योग्यता तोकिएको छ।
निगममा महाप्रबन्धकसहित सात सदस्यीय सञ्चालक समिति हुन्छ। महाप्रबन्धकबाहेक बाँकी सदस्यको कार्यावधि चार वर्षको हुने व्यवस्था छ।
सञ्चालक सदस्यमध्येबाटै सरकारले अध्यक्ष र उपाध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ।
सरकारले चाहेमा समितिका अध्यक्ष, उपाध्यक्ष वा कुनै सदस्यलाई उक्त ऐनअनुसार महाप्रबन्धकको जिम्मेवारी दिएर कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकका रूपमा नियुक्त गर्न सक्ने व्यवस्था छ।
कानुनले सञ्चालक सदस्यको कार्यावधि समाप्त हुनुभन्दा ६ महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले समितिमा राख्ने सदस्यहरूको नाम सरकारसमक्ष प्रस्ताव गर्नुपर्ने व्यवस्था छ।
निगमका कुनै कर्मचारी वा सल्लाहकारले भने सञ्चालक सदस्य पदका लागि आवेदन दिन पाउँदैनन्।
त्यसैगरी निमगबाट ठेक्कापट्टा लिएको, ऋण तिर्न नसकेर टाट पल्टेको, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय भोगेका व्यक्तिले पनि सञ्चालक सदस्य पदका लागि दरखास्त दिन पाउँदैनन्।

Shares

प्रतिक्रिया