सम्पत्ति शुद्धीकरण अभियोगमा प्रक्राउ गरिएका व्यवसायी सुलभ अग्रवाल र उनका छोरा कृषिव अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर बेच्न धितोपत्र बजारमा गम्भीर जालसाजी र भित्री कारोबार गरेको पत्ता लागेको छ।
अग्रवाल दीपक भट्टका व्यावसायिक साझेदार हुन्। नेपालका ठुला व्यावसायिक समूहमध्ये एक शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा हुन्- सुलभ। साथै उनी यो समूहको सबैभन्दा ठुलो मानिने जगदम्बा ग्रुपका अध्यक्ष पनि हुन्।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष रहँदा नै उनले आफ्नो नाममा रहेको त्यस कम्पनीको सेयर छोरा कृषिवको नाममा लगेर बेच्न कानुनी छिद्रमार्फत अदालतको प्रयोग गरेका थिए।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार गरेको हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ र उनका छोरा कृषिवले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रतिवेदनमा अग्रवाल परिवारले अंश बाँडफाँड गरेको देखाएर उनी इन्स्योरेन्सको अध्यक्ष हुँदा नै सेयर बेचेको उल्लेख छ।
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष हुँदा उनको नाममा रहेको सोही कम्पनीको सेयर बिक्री गर्न मिल्दैनथ्यो। धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको नियम ३८ को उपनियम १ ले कम्पनीको नेतृत्वदायी पदमा रहँदा सोही कम्पनीमा आफ्नो नाममा रहेको सेयर बिक्री गर्न नमिल्ने व्यवस्था गरेको छ। अग्रवाल परिवारले सोही कानुनी व्यवस्था छल्न अदालतमा अंश मुद्दा दर्ता गराएको थियो।
सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवालले आफू र छोराहरू कृषिव र आदित्य अग्रवालको हक दाबी गर्दै श्रीमान्लाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अंशको मुद्दा दर्ता गराएकी थिइन्।
उक्त मुद्दा २०८१ चैत २० गते अदालतमै मिलापत्र गरिएको थियो। जसअनुसार सुलभ अग्रवालको नाममा रहेको हिमालयन लाइफको ८ लाख ३ हजार ३१ कित्ता सेयर छोरा कृषिव अग्रवालको भागमा पर्ने र यसबाहेक अन्य सम्पत्तिमा दाबी नगर्ने सहमति गरिएको थियो।
मिलापत्र भएपछि कृषिव अग्रवालले २०८२ जेठ १६ गते धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीमा उक्त अदालती मिलापत्रको प्रतिलिपि र अन्य कागजातसहित सेयर घरायसी नामसारीका लागि निवेदन दिएका थिए।
भृकुटी स्टक ब्रोकिङ कम्पनी विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालले गैरकानुनी सेयर कारोबारमा प्रयोग गरेका थिए।
सोही मिलापत्रको आधारमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडमार्फत सुलभ अग्रवालको हितग्राही (डिम्याट) खाताबाट २०८२ साउन २० गते छोरा कृषिव अग्रवालको खातामा ८ लाख ३ हजार ३१ कित्ता सेयर हस्तान्तरण भयो।
सुलभ अग्रवालले कानुनी व्यवस्था छल्ने बदनियतले अदालतमा अंश चलनको नाटक गरी सेयर छोराको नाममा पुर्याएको र छोराले नामसारी भएको १० दिनभित्रै सबै सेयर दोस्रो बजारमा बिक्री गरेको खुलासा भएको छ। संस्थाको अध्यक्ष पदमा रहँदा सेयर बिक्री गर्न नमिल्ने प्रावधान छल्ने प्रपञ्च अग्रवाल परिवारले गरेको देखिएको छ।
हिमालयन लाइफ इन्स्योरेन्सको ८ लाख ३ हजार ३१ कित्ता सेयर छोरा कृषिवको नामबाट २०८२ साउन ८ देखि साउन २२ सम्म (१० कारोबार दिन) को अवधिमा ती सेयर ४०४ देखि ४६० रुपैयाँसम्मको मूल्यमा बिक्री गरिएको थियो। उनले सबै सेयर बिक्री गरेपछि भने उक्त कम्पनीको सेयर मूल्य क्रमशः घट्दै गएको देखिन्छ।
ती सबै सेयर बिक्रीबाट कुल ३४ करोड ४२ लाख ८३ हजार ३५८ रुपैयाँ ९० पैसा प्राप्त भएको थियो। उक्त रकम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडमा कृषिव अग्रवालको नाममा रहेको खातामा जम्मा भएको थियो। त्यसमध्ये अधिकांश रकम अग्रवाल परिवारकै सदस्य र उनीहरूको नियन्त्रणमा रहेका कम्पनीहरूमा पठाइएको खुलेको छ।
सेयर बिक्रीबाट प्राप्त रकमको करिब ७० प्रतिशत अर्थात् २३ करोड रुपैयाँ कृषिव अग्रवालले २०८२ असोज १० गते सुलभ अग्रवालकै खातामा फिर्ता पठाएका थिए।
त्यसैगरी २०८२ साउन ९ गते सुलभ अग्रवालकी आमा तथा कृषिवकी हजुरआमा ललिता अग्रवालको नाममा २ करोड रुपैयाँ भुक्तानी गरिएको थियो। अग्रवाल परिवारकै संलग्नता रहेको कम्पनी जगदम्बा स्टिल्स लिमिटेडमा दुईपटक गरी ७ करोड ८४ लाख रुपैयाँ पठाइएको थियो। जसमध्ये २०८२ असोज १२ गते ७ करोड रुपैयाँ र असोज ३० गते ८४ लाख रुपैयाँ ट्रान्सफर भएको थियो।
यसरी सेयर बिक्रीबाट प्राप्त रकमको ठुलो हिस्सा अर्थात् २३ करोड रुपैयाँ सुलभ अग्रवाल आफैँले प्राप्त गरेको हुनाले यो कारोबार कानुनी बन्देज छल्न ‘अंशबन्डाको प्रपञ्च’ रचिएको स्पष्ट हुन्छ।
सुलभ र कृषिव अग्रवालले सेयर खरिद-बिक्रीका लागि धितोपत्रको अनलाइन कारोबार प्रणाली ( टीएमएस) लगइन गर्दा एउटै आईपी एड्रेस र उपकरण प्रयोग गरेको फेला परेको छ। यसले दुवैको कारोबार एउटै व्यक्तिको योजना र नियन्त्रणमा भएको पुष्टि गर्छ।
कृषिव अग्रवालले सेयर बिक्री गरी प्राप्त गरेको करिब ३४ करोड ४२ लाख रुपैयाँमध्ये ७० प्रतिशत (२३ करोड रुपैयाँ) पुनः बुबा सुलभ अग्रवालकै बैंक खातामा फिर्ता पठाएको भेटिएको छ। यसले सेयर हस्तान्तरण वास्तविक अंशबन्डा नभई केवल कारोबारका लागि गरिएको ‘प्रपञ्च’ मात्र भएको देखिन्छ।
सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण अभियोगमा अनुन्धानमा तानिने देखिएपछि उनले २० चैतमा हिमालयन इन्स्योरेन्स लिमिटेडको सञ्चालक र अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनी २०८० माघ २८ गते उक्त कम्पनीको सञ्चालक समिति अध्यक्ष नियुक्त भएका थिए।
अहिले अग्रवाल परिवारको नियन्त्रणमा रहेका ३९ भन्दा बढी कम्पनीको विवरण संकलन र अध्ययन नियामक निकायले गरिरहेका छन्।
अनुसन्धान ती कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्सको सेयर कारोबारको रकम प्रयोग भए/नभएको विषयमा केन्द्रित छ।
सुलभ अग्रवाल संलग्न कम्पनीमध्ये हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार मुख्य विवादमा छ।
जगदम्बा समूहका कम्पनीहरू जगदम्बा सिन्थेटिक्स प्रालि, जगदम्बा अटो इन्जिनियरिङ प्रालि, जगदम्बा फ्लोर एन्ड एग्रो प्रालि, जगदम्बा होल्डिंग्स प्रालि, जगदम्बा मोबाइल्स प्रालि र जगदम्बा ओभरसिज प्रालिमा हिमालयन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीको रकम गए/नगएको अध्ययन भइरहेको छ। जगदम्बा स्टिल्स लिमिटेडमा भने रकम पठाइएको भेटिएको छ।
अग्रवालको संलग्नता रहेका सिमेन्ट तथा खानीजन्य कम्पनीहरू सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड र ४० भन्दा बढी खानीसम्बन्धी कम्पनी जस्तैः अम्बालिका, चुरियामाई, गणेश, ग्रिनफिल्ड, मानसरोवरलगायतमा भएको लगानी सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ।
त्यसैगरी उनीहरुले प्रवर्द्धन गरेको एसजी वर्ल्ड प्रालि, जगदम्बा कमल्या हस्पिटालिटी प्रालि र अम्बर प्रोभेस्टमेन्ट प्रालिबारे पनि अनुसन्धान भइरहेको जानकारी स्रोतले नेपालखबरलाई दिएको छ।
शुलभकी श्रीमती शुभी अग्रवालले नेतृत्व गर्ने कम्पनीहरू सारथि इन्भेस्टमेन्ट प्रालि र मोदी इनर्जी लिमिटेड हुन्। मोदीमा छोराहरू कृषिव र आदित्य अग्रवाल पनि संलग्न छन्।
नेपाल धितोपत्र बोर्डले यस प्रकरणमा थप अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ। बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनले सुलभ र कृषिव अग्रवालले गरेको कार्यलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको ‘जालसाजीयुक्त कारोबार’ भनेको छ।
सोही ऐनको दफा १०३ को उपदफा (३) मा भएको व्यवस्थाअनुसार बोर्डले कसुरसँग सम्बन्धित प्राप्त प्रमाण र मिसिलसहित थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाउने निर्णय गरेको हो।
जालसाजीयुक्त कारोबार गर्नेलाई धितोपत्र सम्बन्धी ऐनको दफा १०१ (३) बमोजिम १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
कारोबारबाट कसैलाई हानि-नोक्सानी भएको देखिएमा त्यसको क्षतिपूर्ति पनि दिनुपर्ने कानुनी प्रावधान छ।
सम्बन्धित समाचार:
- उधारोमा सेयर कारोबार गर्ने दीपक भट्टले भृकुटीलाई ३ अर्ब ८० करोड तिर्न बाँकी
- सुलभ–दीपकको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा, हिमालयन रिबाट पनि कागजात नियन्त्रणमा
- प्रतिबन्धित भेपजन्य वस्तुको अवैध बिक्रीवितरणमा ‘थर्मल गन ग्याङ’, प्रशासनले ८ महिनादेखि गरेन कारबाही
- एक अर्ब ८० करोड नतिर्न प्रधानमन्त्री ओलीलाई चिप्ल्याउने अग्रवालको चलखेल
- थर्मल गन ग्याङको कब्जामा अर्थतन्त्र, कतिन्जेल धान्ला त चौर्यतन्त्रले?
Shares

प्रतिक्रिया