अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई सेमिकन्डक्टर प्रविधिमा पहुँच रोक्न नयाँ निर्यात नियम ल्याएको छ।
नयाँ नियमले अमेरिकी प्रविधि र सफ्टवेयर प्रयोग गर्ने चिपजन्य सेमिकन्डक्टर निर्मातालाई उत्पादित सामग्री अमेरिकी अनुमतिविना हुवावेलाई शिपिङ गर्न रोक्ने बीबीसीले जनाएको छ।
हुवावेविरुद्ध अमेरिकाले चालेको यो पछिल्लो र ताजा कदम हो। हुवावेको प्रविधिलाई अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा पार्ने आरोप लगाउँदै आएको छ। तर हुवावेले भने अमेरिकी आरोप अस्वीकार गर्दै आइरहेको छ।
अमेरिकाले फेरि एकपटक आफ्नो देशको कम्पनीलक्षित नियम ल्याएपछि चीनले अमेरिकी प्रविधि कम्पनीविरुद्ध पनि सोही प्रकृतिको कदम चाल्ने चेतावनी दिएको छ।
अमेरिकी वाणिज्य विभागले यसअघि नै हुवावेलाई कालोसूचीमा राखिसकेको छ। संसारका फोन प्रणाली र धेरैजसो कम्प्युटरमा अमेरिकी सेमिकन्डक्टर चिपहरु प्रयोग हुन्छन्।
यो निर्णयले हुवावेलाई अप्ठ्यारोमा पार्नेछ।
चिनियाँ कम्पनीहरुले भने चीनमै यस्ता चिपहरु निर्माण गर्ने लक्ष्यले काम गरिरहेका छन्।
नयाँ नियम आउँदो शुक्रबार प्रकाशित हुँदै छ। यसले अमेरिकी प्रविधिमा विदेशमै बनेका वस्तुहरु समेत हुवावेलाई दिन प्रतिबन्धित गर्ने बताइएको छ। तर अर्को १ सय २० दिनसम्म हुने चिप, सफ्टवेयरको शिपिङलाई यसले असर गर्नेछैन।
अमेरिकाले हुवावेसँग कारोबार गर्ने कम्पनीहरुलाई लाइसेन्स दिने तयारी समेत गरेको छ।
नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा डोनाल्ड ट्रम्पले चीनविरुद्ध चर्का वक्तव्यबाजी गरिरहेका छन्। उनले विश्व महामारी कोरोना चीनले फैलाएको आरोप समेत लगाउँदै आएका छन्।
गत बुधबार त उनले द्विदेशीय सम्बन्ध नै मेटाउने चेतावनी समेत दिएका थिए।

प्रतिक्रिया