कारोबार


आयातमा डिजेल, निर्यातमा सोयाबिन र पाम आयल : यस्तो छ १७ खर्बको वैदेशिक व्यापारको हिसाबकिताब

आयातमा डिजेल, निर्यातमा सोयाबिन र पाम आयल : यस्तो छ १७ खर्बको वैदेशिक व्यापारको हिसाबकिताब

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १२:५५, काठमाडौँ

चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको वैदेशिक व्यापारको आकार १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सोमबार प्रकाशन गरेको तथ्यांक अनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष वैदेशिक व्यापार १४.४० प्रतिशतले बढी हो।

यस अवधिमा व्यापार घाटा भने १२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। यस्तो घाटा गत वर्षको सोही अवधिमा ११ खर्ब २१ अर्ब थियो। त्यसको तुलनामा यस वर्षको घाटामा उल्लेखनीय वृद्धि हो।

तथ्यांकअनुसार, कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९९ प्रतिशत छ भने निर्यातको हिस्सा १३.०१ प्रतिशत छ। आयात–निर्यात अनुपात ६.६९ पुगेको छ।

चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु आयात १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १३.८२ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा १३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो। 

आयाततर्फ सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको छ। नौ महिनामा २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको छ। वनस्पति घिउ–तेल आयात १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, मेसिनरी तथा मेकानिकल उपकरण र तिनका पार्टपुर्जा १ खर्ब ८ अर्ब रुपैयाँ खर्च बराबरको आयात भएको छ। यस अवधिमा फलाम तथा स्टिल आयातमा १ खर्ब ५ अर्ब रुपैयाँ विदेशिएको छ।

आयातमा डिजेल पहिलो स्थानमा रहेको छ। यस अवधिमा १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँको डिजेल आयात भएको छ। त्यसैगरी, कच्चा सोयाबिन तेल आयात गर्न ९६ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको छ। नौ महिनामा नेपालले ५० अर्ब ३९ करोड रुपैयाँको पेट्रोल आयात गरेको छ। 

यस अवधिमा स्पन्ज आइरन ४२ अर्ब ६२ करोड रुपैयाँको आयात भएको छ। खाना पकाउने ग्यास (एलपीजी) ४१ अर्ब ६४ करोड रुपैयाँ बराबरको आयात भएको छ। साउनदेखि चैत्रसम्ममा नेपालले ३३ अर्ब ८२ करोड रुपैयाँको स्मार्टफोन आयात गरेको छ। त्यसैगरी, २४ अर्ब ८ करोड रुपैयाँको डीएपी मल र २३ अर्ब ५० करोड रुपैयाँको सुन आयात भएका छन्।

गएको नौ महिनामा इलेक्ट्रिकल उपकरणमा ९९ अर्ब ७३ करोड, सवारीसाधनमा ८३ अर्ब ७ करोड रुपैयाँ खर्च भएको भन्सार विभागले प्रकाशन गरेको तथ्यांकमा उल्लेख छ।

निर्यातमा सुधार
विभागले प्रकाशन गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा नेपालको निर्यात व्यापार उल्लेख्य सुधार भएको छ। यस अवधिमा निर्यात बढेर २ खर्ब रुपैयाँ नाघेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात १८.४६ प्रतिशतले बढेको हो। गत वर्ष चैतसम्म १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

सोयाविन र पाम आयलको निर्यात बढ्दा नेपालको निर्यात व्यापारको ग्राफ उकालो लागेको हो। यस्ता वस्तु तेस्रो मुलुकबाट आयात गरी भारततर्फ पुनः निर्यात हुने गरेको छ। नौ महिनाको अवधिमा मात्रै यी वस्तु १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ।

यस अवधिमा मसला, कफी र चियाको निर्यात १४ अर्ब ९८ करोड रुपैयाँभन्दा माथि पुगेको छ। 

निर्याततर्फ सोयाबिन तेल ९० अर्ब ७१ करोड रुपैयाँसहित पहिलो स्थानमा रहेको छ भने अलैँची १० अर्ब ७० करोड रुपैयाँसहित दोस्रो स्थानमा छ। त्यसैगरी, नेपालबाट ७ अर्ब ४४ करोड रुपैयाँको कार्पेट, ६ अर्ब ९४ करोड रुपैयाँको र सूर्यमुखी तेल निर्यात भएको छ। 

नेपालका प्रमुख व्यापार साझेदारका रूपमा भारत र चीन रहेका छन्। यस अवधिमा भारतबाट ८ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु आयात हुँदा नेपालले भारततर्फ १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। 

त्यसैगरी, चीनबाट ३ खर्ब रुपैयाँको आयात भएको छ भने १ अर्ब १९ करोड रुपैयाँको मात्रै निर्यात भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad