ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले निजी क्षेत्रमार्फत प्राप्त आर्थिक सहयोग प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन्।
मन्त्री पुनले आइतबार ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई निजी क्षेत्रबाट प्राप्त १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
त्यस क्रममा मन्त्री पुनले कोषमा जम्मा भएको रकम महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परेका पालिकाहरुमा पठाउने कार्य सुरु गर्न सुझाब दिए।
सचिव बिडारीले हालसम्म कोषमा २ अर्ब २६ करोड रुपैयाँ जम्मा भइसकेको जानकारी दिएका थिए। उनले माग भई आएको अवस्थामा कोषबाट पालिकाहरुमा रकम पठाउन सकिने बताए। हालसम्म केही पालिकाले मौखिक रुपमा रकम माग गरेको भन्दै उनले तालुकदार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत प्रक्रियागत रुपमा पालिकाहरुले कोषको रकम माग गर्न सक्ने स्पष्ट गरे।
महामारीबाट कम प्रभावित र आन्तरिक श्रोत परिचालन गर्न सक्ने पालिकाहरुका लागि कम र अतिप्रभावित तथा आन्तरिक श्रोत कम भएका पालिकाहरुका लागि बढी प्राथमिकतामा राखेर रकम पठाइने उनको भनाइ थियो। संघीय सरकारले पालिकाहरुले क्वारेन्टिन निर्माण, क्यारिन्टिनमा राखिएकाहरुको खानपिन तथा उपचारका लागि आफूसँग मौज्दात रकमबाटैै खर्च गरे पनिपछि भुक्तानी दिइने व्यवस्था मिलाएको छ।

प्रतिक्रिया