सरकारले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्मको उपभोग दस्तुर (टोल फी) निर्धारण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सवारीको भार र प्रकृतिअनुसार फरक–फरक शुल्क सार्वजनिक गरेको हो।
मन्त्रिपरिषद्को गत साउन २६ को निर्णयअनुसार सडक बोर्ड ऐन, २०५८ को अधिकार प्रयोग गरी यो दस्तुर तोकिएको हो। नयाँ दरअनुसार काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ।

ठूला बस र सिंगल रियर एक्सल भएका ट्रकले सुरुङ मार्ग प्रयोग गरेबापत भित्रिँदा २६० र बाहिरिँदा २०० रुपैयाँ बुझाउनुपर्नेछ। सबैभन्दा महँगो शुल्क भारी उपकरण तथा मल्टी एक्सल ट्रकका लागि तोकिएको छ, जसले काठमाडौँ प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्ने राजपत्रमा उल्लेख छ।
दुई पाङ्ग्रे सवारीका हकमा भने सुरुङमार्ग प्रयोग गर्न पाइने वा नपाइने र शुल्क लाग्ने वा नलाग्नेबारे सूचनामा केही खुलाइएको छैन।
सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेका बेला सरकारले मर्मतसम्भार र व्यवस्थापन खर्च जुटाउन यस्तो दस्तुर उठाउने निर्णय गरेको हो। अब यो मार्ग प्रयोग गर्ने हरेक सवारीले तोकिएको विन्दुमा अनिवार्य रूपमा यो दस्तुर भुक्तानी गर्नुपर्नेछ।

Shares

प्रतिक्रिया