कारोबार


बजेट लेखनको ‘कमान्ड’ उत्तरकुमार खत्रीलाई, अर्थ मन्त्रालयमा टिम तयार

बजेट लेखनको ‘कमान्ड’ उत्तरकुमार खत्रीलाई, अर्थ मन्त्रालयमा टिम तयार

अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्री


नेपालखबर
चैत २०, २०८२ शुक्रबार १८:२०, काठमाडौँ

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि अर्थ मन्त्रालयले औपचारिक प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा ५ सदस्यीय 'बजेट लेखन समिति' गठन गर्दै गृहकार्यलाई तीव्रता दिएको हो।

मन्त्रालयले अनुभवी सहसचिवहरूलाई समेटेर बजेटको ड्राफ्ट तयार पार्ने जिम्मेवारी सुम्पेको छ। समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सदस्य रहेका छन्।

समितिले अबको डेढ महिनाभित्रै वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्ने, आयोजनाको प्राथमिकीकरण गर्ने र विनियोजन विधेयकको मस्यौदा तयार पार्ने म्यान्डेट पाएको छ।

बजेटको प्राथमिकता र कार्यतालिका
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था अनुसार सरकारले आगामी जेठ १५ गते संसद्‌मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ। सोही कार्यतालिकालाई पछ्याउँदै अर्थले लेखन समितिलाई बजेट वक्तव्यको प्रारूप (ड्राफ्ट) तयार पार्न निर्देशन दिएको हो।

'समितिले मन्त्रालयका विभिन्न महाशाखा र सम्बद्ध सरोकारवालासँग समन्वय गरी बजेटको खाका तयार पार्नेछ,' अर्थ मन्त्रालयका एक अधिकारीले भने, 'यस पटकको बजेटमा उत्पादन वृद्धि र राजस्व संकलनको नयाँ स्रोत पहिचानलाई प्राथमिकता दिने सरकारी लक्ष्य छ।'

यस वर्षको बजेट निर्माणमा वैदेशिक सहायता परिचालन र वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ। समितिका सदस्यहरू डा.धनीराम शर्मा र सेवन्तक पोखरेलले क्रमशः वैदेशिक सम्बन्ध र संघीयता समन्वयको पाटो हेर्ने भएकाले बजेटमा यी विषयले प्राथमिकता पाउने देखिएको छ।

सरकारले आगामी वर्षको बजेटमार्फत सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने र निजी क्षेत्रको मनोबल उकास्ने खालका कार्यक्रम ल्याउने दाबी गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad