कारोबार


चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०८२ मंगलबार ७:५८, रसुवा

रसुवामा चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा तीन दिनपछि सञ्चालनमा आएको छ। 

गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुग्दा विद्युत सेवा अवरुद्ध भएको थियो। 

क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण शाखा, रसुवाले जनाएको छ। 

प्राधिकरणका प्राविधिक प्रमुख कुमार घलेका अनुसार चट्याङबाट चारवटा ट्रान्सफर्मर क्षति पुर्‍याएको थियो। मौज्दात नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्ति सुरु गरिएको हो।

चट्याङबाट उत्तरगया गाउँपालिकाको माझगाउँ, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चेको साप्चे, आमा छोदिङ्मो गाउँपालिकाको बहुङडाँडा गोल्जुङ र पुरानो तातोपानी क्षेत्रका ट्रान्सफर्मरमा क्षति पुगेको थियो। ट्रान्सफर्मरमा क्षति पुग्दा धुन्चेमा समेत विद्युत सेवामा समस्या देखिएको थियो।

जिल्लामा विद्युत् उपभोग गर्ने करिब १० हजार ६०० ग्राहक रहेको प्राधिकरणले जनाएको छ। 

ट्रान्सफर्मर मरमत गर्न तत्काल कर्मचारी परिचालन गरिएको शाखा प्रमुख गुञ्जमान तामाङले जानकारी दिए। एकैपटक जिल्लाभर समस्या उत्पन्न हुँदा सबै स्थानमा एकसाथ प्राविधिक पुर्याउन चुनौती भएको उनको भनाइ छ।

जिल्ला विद्युत् उत्पादनको हब भए पनि निरन्तर विद्युत् आपूर्ति हुनसकेको छैन। समयसमयमा बत्ती निभ्ने पुरानो रोग अझै पनि विद्यामान छ। टिमुरे, रसुवागढी, खैदी तथा थुमन क्षेत्रको विद्युत् सेवाका प्रसारण लाइन भने रसुवागढी जलविद्युत् आयोजनामार्फत विस्तार गरिएको हो।

प्राधिकरणले आपत्कालीन अवस्थाका लागि आवश्यक उपकरण मौज्दात राखिएको जनाएको छ। विपद्का बेला विद्युत् सेवा छिटो पुनः सञ्चालन गर्ने तयारी सधैँ राखिएको शाखा प्रमुख तामाङले बताए।  

जिल्लामा मासिक करिब डेढ करोड रुपैयाँबराबर विद्युत् महसुल सङ्कलन हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad