निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लकडाउन सुरु भएपछि ग्राहकहरुलाई बोनस ब्यालेन्सबापत ३ अर्ब ३५ करोडभन्दा धेरै बाँडेको छ। यो ब्यालेन्स रकम एनसेलका ग्राहकहरुले रिचार्ज गरेबापत पाएका हुन्।
कम्पनीका अनुसार ग्राहकको आवश्यकतालाई ध्यानमा राखी कम्पनीले लकडाउन सुरु भएको भोलिपल्ट चैत १२ देखि नै बोनस दिन थालेको थियो।
लकडाउन सुरु भएपछि उपभोक्तालाई रिचार्जमा समस्या हुनसक्ने भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले शतप्रतिशत बोनस दिन सेवा प्रदायकलाई निर्देशन समेत दिएको थियो।
उक्त निर्देशनपछि सरकारी स्वामित्वको नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई बोनस दिन सुरु गरेका थिए। नेपाल टेलिकमले १०० प्रतिशत र एनसेलले १२० प्रतिशत बोनस दिन सुरु गरेका थिए।
एनसेलले यसरी प्रदान गरिएको बोनस ब्यालेन्सको रकम अहिलेसम्म ३ अर्ब ३५ करोड नाघिसकेको जनाएको छ।
एनसेलले कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाइ नहोस् भन्ने हेतुले रिचार्जमा १२० प्रतिशत बोनस दिँदै आएको छ।
रिचार्जबापत प्राप्त हुने बोनस रकमबाट एनसेल नेटवर्कभित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिन्छ।
बोनस अफरमा एनसेलका ग्राहकले ५० देखि १००० को रिचार्जमा १२० प्रतिशत बोनस उपलब्ध छ। यसको अर्थ ५० रिचार्ज गर्ने ग्राहकले बोनसस्वरुप ६० रुपैयाँ र ५०० रिचार्ज गर्ने ग्राहकले बोनसस्वरुप ६ सय रुपैयाँ पाउँछन्। प्राप्त हुने बोनस रकम तीन दिनसम्म मान्य हुने एनसेलले जनाएको छ।
एनसेलले यस संकटको अवस्थामा आफ्ना ग्राहकहरुलाई बोनसबाहेक अन्य सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।
कम्पनीले १५ जीबीको स्टे होम डाटा प्याक, क्याम्पस पढ्ने विद्यार्थीलाई अनलाइन अध्ययनका लागि सस्तोमा १६ जीबीको मोबाइल क्लास डाटा प्याक, इन्टरनेटको दरमा २५ प्रतिशत छुट, निःशुल्क ब्यालेन्स ट्रान्सफर, सापटी रकमका वृद्धिलगायत अन्य थुप्रै अफरहरु ल्याएको छ।
लकडाउनले गर्दा रिचार्ज कार्ड पाउन कठिन हुनसक्ने भएकाले एनसेलले विभिन्न माध्यमबाट रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ। ग्राहकले रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्जलगायत सबै माध्यमबाट हुने रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया