कारोबार


चिनियाँ टोलीले नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ गर्ने

चिनियाँ टोलीले नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ गर्ने

रमेश पाेख्रेल
असार २५, २०७६ बुधबार १२:१७,

चीनको ग्वान्झाउ सहरमा उडान अनुमति प्रक्रिया अघि बढाएको  नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ गर्न चिनियाँ टोली आउने भएको छ। नेपाल युरोपियन युनियनको सुरक्षा खतरा सूचीमा रहेको भन्दै चीनले उडान सुरू गर्नुभन्दा पहिले सेवाप्रदायक कम्पनीको सुरक्षा, व्यवस्थापनसहितको सुपरिवेक्षण गर्न लागेको हो।

चिनियाँ नागरिक उड्डयन नियामक निकायले सुरक्षा अवस्थाको जाँचबुझ गरेपछि मात्र उडान अनुमति दिने/नदिनेबारे निर्णय गरिने जवाफ निगमलाइ  पठाएको छ।

अनुमति प्रक्रियाका क्रममा निगमले पठाएका कागजातमा चित्त नबुझाएर चीनले आफ्नो एक अडिट टोली नेपाल पठाउन लागेको हो। यससम्बन्धी पत्र यही जुलाई ५ तारिखमा निगमले प्राप्त गरिसकेको छ। निगमले व्यवस्थापन टोली गठन गरी उनीहरुलाई सहजीकरण गर्ने जानकारी दिएको छ।

निगम कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार अडिटका लागि आउने टोलीको नामावली प्राप्त भइसकेको छ। जुनशेंग शीले निगमलाई पठाएको पत्रअनुसार चिनियाँ संस्थाको इन्स्पेक्टर वांगको नेतृत्वमा अडिटिङ टोली काठमाडौं आउनेछ।

noc

चीनको चासो नेपाल वायुसेवा निगमसँग भन्दा पनि नेपाली वायुसेवा उद्योगका सम्बन्धमा रहेको छ। नेपाललाइ सुरक्षा कालोसूचीमा राखेको छ। इयूले उठाइरहेकै विषयलाई उनीहरुले पनि चासोका रुपमा हेरेको कार्यकारी अध्यक्ष खरेलले नेपालखबरलाई जानकारी दिए।

अडिट प्रतिवेदन आउन बढीमा ९० दिन लाग्नेछ। यो प्रक्रिया पूरा गर्नुपर्ने भएपछि निगमलाइ ग्वान्झाउ उडान सुरू गर्न केही ढिलो हुनेछ। 

नेपाल र चीनबीच सन् २००४ मा भएको दशबुँदे दुईपक्षीय हवाइ सेवा सम्झौता भएको थियो। १५ वर्षअघि भएको सम्झौतामा नेपालले चीनका बेइजिङ, छेन्दु, ग्वान्झाउ, सांघाई, ल्हासा, कुन्मिङ र सियानमा उडान भर्न पाउने उल्लेख छ। सम्झौता भएको लामो अवधिसम्म पनि चीनले नेपाली हवाइ सेवा प्रदायकलाई अनुमति नदिँदा विभिन्न टिका टिप्पणी भइरहेका छन्। सन् २०१४ मा निगमले चीनसँग ग्वान्झाउका लागि उडान अनुमति मागेको थियो।

ग्वान्झाउमा उडान सुरु भएसँगै अन्य ६ वटा सहरमा पनि उडान अनुमति माग्ने निगमको तयारी छ। व्यापारिक र पर्यटकीय महत्वका चिनियाँ सहरहरू बेइजिङ, सांघाई, ग्वान्झाउ र ल्हासालाई नेपालले उडानको पहिलो प्राथमिकतामा राखेको छ। नेपाली वायुसेवाले चीनका सहरमा नउडे पनि चिनियाँ वायुसेवा कम्पनीका उडान काठमाडाैंमा बाक्लै भइरहेका छन्। नेपालमा हाल चिनियाँ वायुसेवाले सातामा ७० वटा उडान गरिरहेका छन्।

सम्झौतामा दुई देशले बराबर उडान गर्न पाउने उल्लेख भए पनि चिनियाँ कम्पनीले एकतर्फी उडान गरिरहेका छन् भने नेपाली कम्पनीलाई चीनमा उडान भर्न अनुमति दिइएको छैन।

१५ वर्षअघिको सम्झौताअनुसार नेपालले चिनियाँ सहरमा सातामा १४ उडान गर्न पाउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .