सर्वोच्च अदालतले सीमानाकाबाट नेपाल आयात हुने भारतीय तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यससम्बन्धी दायर भएका मुद्दामा अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चमा मंगलबार मात्रै सरकारको निर्णयविरुद्ध तीनवटा मुद्दा परेको थियो। तीनवटै रिटमाथि सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै आगामी ३० गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। सर्वोच्चमा स्वतन्त्र राष्ट्रिय अभियानका स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रिट दायर गरेका थिए।
संविधानले दिएको उपभोक्ता स्वास्थ्यको हक, सुरक्षित मातृशिशुको हक हनन भएको भन्दै रिट दायर भएको थियो। त्यस्तै उपभोक्ता हित संरक्षण मञ्चले पनि विषादी परीक्षणपछि मात्रै तरकारी आयात गर्ने आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेकाे छ।
यही असार १८ गते मन्त्रिपरिषदले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो।
Shares
प्रतिक्रिया