कारोबार


पेट्रोलियम संकटको अनिश्चितताले अटो बजारको ध्यान ईभीतर्फ, सोरुममा बढ्यो सोधखोज

पेट्रोलियम संकटको अनिश्चितताले अटो बजारको ध्यान ईभीतर्फ, सोरुममा बढ्यो सोधखोज

निर्दोष घोरसाइने
चैत ११, २०८२ बुधबार १४:३१, काठमाडौँ

केही महिनायता सुस्त देखिएको अटोमोबाइल बजारमा अचानक नयाँ तरंग देखिएको छ। यो तरंग गाडीको इन्जिनको आवाजले होइन, बरु शान्त गुड्ने विद्युतीय सवारी (ईभी) प्रतिको ह्वात्तै बढेको आकर्षणले ल्याएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय राजनीतिक रस्साकस्सी र त्यसले निम्त्याउन सक्ने पेट्रोलियम संकटको त्रासले नेपाली उपभोक्तालाई पुनः विद्युतबाट चल्ने सवारीतर्फ डोहोर्‍याउन थालेको हो।

अमेरिका–इजरायल र इरानबी युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा अवरोध र मूल्य वृद्धिले चिन्ता थप बढाएको छ। नेपालले सतप्रतिशत आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य तीन हप्ता यता एक पटक वृद्धि भइसकेको छ।

यसको सोझो असरका रूपमा उपभोक्ताले वैकल्पिक ऊर्जाका रूपमा ईभी गाडीलाई सुरक्षित मान्न थालेको ठम्याइ व्यवसायीको छ। उनीहरूका अनुसार पछिल्लो दुई सातायता सोरुमहरूमा ईभीबारे सोधखोज गर्ने र बुकिङ गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

बिजुली: पेट्रोलभन्दा सस्तो स्वदेशी उत्पादन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि मात्र होइन, सरकारले आपूर्ति व्यवस्थापन सहज बनाउन सवारी साधनमा पुनः ‘जोर–विजोर’ प्रणाली लागू गर्न सक्ने चर्चाले पनि ईभीको बजारलाई मलजल गरेको हो।

योम माई मोटर्स प्रालिका निर्देशक संजिव शिल्पकारका अनुसार अहिले इलेक्ट्रिक स्कुटरबारे बुझ्न आउने ग्राहकको संख्या अपत्यारिलो गरी बढेको छ। नक्सालस्थित टेल्जी सोरुमको उदाहरण दिँदै उनले भने, 'एक साता अघिसम्म दैनिक चार–पाँच जना मात्र ग्राहक आउने गरेकोमा अहिले यो संख्या बढेर २५–३० जनासम्म पुगेको छ।' शिल्पकार यसको मुख्य कारण पेट्रोलियम पदार्थको अनिश्चितता र विद्युत् आफ्नै देशमा उत्पादन हुनुलाई मान्छन्।

पछिल्लो समय नेपालमा देखिएको पेट्रोलियम अभाव र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धिका बीच ईभी अब विलासिता मात्र नभई नेपालको ऊर्जा सुरक्षा र आर्थिक स्थायित्वको मेरुदण्ड बन्दै गएको देखिन्छ।

'नेपालमा पेट्रोलियम पदार्थ उत्पादन नहुने भएकाले आयातमै निर्भर रहनुपर्छ। अन्तर्राष्ट्रिय तनावले आपूर्तिमा अवरोध ल्याउँछ तर विद्युत् देशमै उत्पादन हुने भएकाले उपभोक्ता ईभीतर्फ आकर्षित भइरहेछन्,' शिल्पकार भन्छन्।

सोध्ने र किन्ने दुवै बढे
पेट्रोलियम आपूर्तिमा चाप कम गर्न जोर–विजोर प्रणालीको गृहकार्य भइरहँदा ईभीमा त्यस्तो रोक नलाग्ने हुँदा पनि बजार चलायमान बनाएको छ। गोल्छा अर्गनाइजेसनअन्तर्गत जीओ–फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छा पनि यस्ता अवरोधहरूले ईभीको महत्व झन् प्रस्ट्याउने बताउँछन्। 'ईभीप्रतिको रुचि बढ्दै गएको छ, अझ बढ्ने क्रममा छ। जोर–विजोर लागू भएमा यसको प्रभाव थप देखिनेछ,' गोल्छाले भने। उनका अनुसार इन्धन गाडीको बिक्री अझै केही समय सुस्त रहन सक्छ,तर ईभीको माग भने उकालो लाग्ने संकेत स्पष्ट देखिइसकेका छन्।

अहिले लगभग सबै घरधुरीमा बिजुली पुगेको र लोडसेडिङको अन्त्य भएकाले नेपाली उपभोक्ताका लागि विद्युतीय सवारीको प्रयोग तुलनात्मक लाभको विषय बनेको हो। स्वदेशी बिजुलीको खपत बढाउन पनि यातायात क्षेत्रलाई विद्युतीकरण गर्नु अनिवार्य भइसकेको छ। यसको नतिजास्वरूप, पेट्रोल गाडी चलाउन लाग्ने खर्चको तुलनामा ईभी चार्ज गर्दा १५ गुणासम्म सस्तो पर्ने अनुभव उपभोक्ताको छ।

ओमोडा जेको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका भाइस प्रेसिडेन्ट रुपेश शर्माले पनि पछिल्लो समय ईभीबारे जानकारी लिन आउने ग्राहक १५ देखि २० प्रतिशतले बढेको अनुभव सुनाउँछन्। 'पछिल्ला दुई–तीन सातामा चासो बढ्दो क्रममा छ। यदि पेट्रोलियम आपूर्ति समस्या जारी रह्यो वा जोर–विजोर लागू भयो भने ईभीको माग अझ बढ्नेछ,' शर्माको प्रक्षेपण छ।

इस्कुटरले पनि लिँदैछ बजार
जेनजी आन्दोलनपछि केही समय सुस्त बनेको ईभी बजार अहिले विस्तारै तंग्रिन थालेको सीजी मोटर्सका बजार प्रतिनिधि पनि स्वीकार्छन्। पहिले मासिक १००–१५० जनाको सोधखोज आउने गरेकोमा अहिले दिनमै ८–१० जना सोझै सोरुम आउन थालेको उनको भनाइ छ।  'सोरुममा आउने बढेका छन्, त्योभन्दा बढी फोन र सामाजिक सञ्जालमार्फत धेरैले ईभीमा चासो देखाइरहनुभएको छ,' ती प्रतिनिधिले नेपालखबरसँग भने।

इन्धनको मूल्य वृद्धिले विद्युतीय स्कुटर युवादेखि कामकाजी वर्गसम्मको रोजाइमा पर्न थालेका छन्। चारपांग्रे ईभीले बजार ओगटिरहँदा पछिल्लो समय दुईपांग्रेमा पनि उस्तै प्रतिस्पर्धा देखिएको हो। वैद्य इनर्जीले प्रिमियम भेरियन्ट ‘रिज्टा एस’ सार्वजनिक गर्ने तयारी गरेसँगै बुकिङमा आकर्षण देखिएको ब्रान्ड स्ट्राटेजिस्ट प्रशान्त खत्री बताउँछन्।

यस्तै, सुपर शोकोको बिक्रेता डी–लाइफ स्टाइलका सेल्स इन्चार्ज गोकुल राउतका अनुसार पहिले दैनिक ८–१० जना सोरुम आउने गरेकोमा अहिले यो संख्या २० सम्म पुगेको छ। 'यसमा पनि बुझ्न मात्र भन्दा पनि किन्ने मनसाय राखेर आउनुहुनेको संख्या बढी छ,' राउत भन्छन्।

नेपालमा दुई वर्षयता बिक्री भएका प्यासेन्जर गाडीमध्ये ठूलो हिस्सा ईभीले लिएको छ। यसलाई विश्वकै ठूलो ईभी गाडी निर्माता छिमेकी देश चीनको तीव्र बजार विस्तारले थप सहयोग पुर्‍याएकोछ। विश्व प्रख्यात बीवाइडीदेखि एमजीसम्मका अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड नेपालमा छन्।

भन्सार विभागको पछिल्लो तथ्यांकले पनि ईभीको क्रेजलाई पुष्टि गर्छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै १४ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीका चारपांग्रे ईभी नेपाल भित्रिएका छन्। त्यस्तै १ अर्ब २८ करोड रुपैयाँ बराबरका १३ हजार ७४६ वटा दुईपांग्रे ईभी आयात भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad