सरकारले विदेशी पर्यटकका लागि निषेधित क्षेत्रमा पनि एकल पदयात्रा (सोलो ट्रेकिङ) खुला गर्ने निर्णय गरेको छ। अध्यागमन विभागले यसअघि कम्तिमा दुई जना हुनुपर्ने प्रावधानलाई परिमार्जन गर्दै अब एक जना पदयात्रीलाई पनि अनुमति दिने भएको हो।
निषेधित क्षेत्रमा जान पदयात्रा साझेदार खोज्नुपर्ने बाध्यताले पर्यटकलाई असहज भएको भन्दै विभागले यस्तो निर्णय लिएको हो। विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले भने, 'पर्यटकलाई सहज बनाउन र पर्यटन प्रवर्द्धनका लागि एकल पदयात्रीलाई पनि अनुमति दिने निर्णय गरिएको हो।'
नयाँ व्यवस्थाअनुसार एकल पदयात्रीले पनि अनिवार्य रूपमा ट्रेकिङ एजेन्सीमार्फत आवेदन दिनुपर्नेछ र साथमा गाइड हुनुपर्नेछ। यस्तै, समूहमा जाँदा अब एक टोलीमा बढीमा ७ जना मात्र रहन पाउने सीमा तोकिएको छ ।
प्रविधि मैत्री बनाउन विभागले अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने र विदेशबाटै पदयात्रा अनुमतिका लागि प्रक्रिया सुरु गर्न सकिने व्यवस्था समेत गरेको छ। यसअघि आवेदनका लागि नेपालको भिसा नम्बर अनिवार्य चाहिने व्यवस्था थियो।
Shares

प्रतिक्रिया