कारोबार


सेयर बजारमा ‘फागुन २६’कै उत्साह : परिसूचकसँगै कारोबार रकममा पनि फड्को

सेयर बजारमा ‘फागुन २६’कै उत्साह : परिसूचकसँगै कारोबार रकममा पनि फड्को

नेपालखबर
चैत ५, २०८२ बिहिबार १५:३०, काठमाडौँ

धेरै समयको सुस्ततापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार एकाएक ठूलो उत्साह देखिएको छ। परिसूचक र कारोबार रकम दुवैमा देखिएको यो बढोत्तरीले लगानीकर्ताको मनोबल पुनः फर्किएको संकेत गरेको छ।

बिहीबार बजार खुलेदेखि नै सुरु भएको वृद्धिको क्रम अन्तिमसम्म जारी रहँदा नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७ विन्दुमा कायम भएको छ। यो वृद्धिसँगै बजारमा खरिदकर्ताको चाप ह्वात्तै बढेको देखिन्छ।

कारोबार रकममा रेकर्ड नजिक
बिहीबारको सबैभन्दा सुखद पक्ष कारोबार रकममा आएको उछाल हो। अघिल्लो दिन १२ अर्ब ३ करोड रुपैयाँको मात्र कारोबार भएकोमा आज झन्डै शतप्रतिशतले बढेर २१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यो रकम गत फागुन २६ गतेको (२१ अर्ब ५० करोड) कारोबार पछि उच्च हो। नेप्सेको इतिहासमा २०८१ साउन ३१ गते २९ अर्ब ९५ करोडको ऐतिहासिक रेकर्ड बनेको थियो, जुन अहिलेको कारोबार रकमसँग तुलना गर्दा बजार पुनः सोही उचाइतर्फ फर्कन खोजेको देखिन्छ।

विकास बैंकको दबदबा

आजको बजारलाई उकास्न विकास बैंक समूहले मुख्य भूमिका खेल्यो। यो समूहको सूचक सर्वाधिक ३.९५ प्रतिशतले बढ्यो । बैंकिङ समूहमा पनि ३.१६ प्रतिशतको सुधार देखिनुले ठूला लगानीकर्ताको प्रवेश भएको मान्न सकिन्छ । फाइनान्स, होटल, हाइड्रोपावर र बिमा लगायतका सबै उपसमूहका सूचक आज हरियाली बनेका छन्।

उकालो लागेका कम्पनी
आज कारोबार भएकामध्ये २४० कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको मात्र घट्यो। ५ वटा कम्पनीहरूको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्। यस्तै, एनआईसी एसिया, सिटिजन्स र माछापुच्छ्रे जस्ता वाणिज्य बैंकहरूको मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्दा माहुली लघुवित्तका लगानीकर्ताले भने करिब ३ प्रतिशत गुमाएका छन्।

लगानीकर्ताको आकर्षण
आज ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर र माथिल्लो तामाकोशीको सेयरमा लगानीकर्ताको अत्यधिक आकर्षण देखियो। राजनीतिक स्थिरता र नयाँ सरकार गठनको चर्चाका बीच वित्तीय प्रणालीमा तरलता सहज हुँदै जाँदा सेयर बजारमा त्यसको सिधा प्रभाव देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad