कारोबार


उडिरहेको अमेरिकन एयरलाइन्सको विमानमा कसले हान्यो गोली? सुरक्षित अवतरणपछि मच्चियो खैलाबैला

उडिरहेको अमेरिकन एयरलाइन्सको विमानमा कसले हान्यो गोली? सुरक्षित अवतरणपछि मच्चियो खैलाबैला

एजेन्सीहरू
फागुन १५, २०८२ शुक्रबार १८:३५, काठमाडौँ

अमेरिकन एयरलाइन्सको एउटा बोइङ ७३७ म्याक्स-८ विमानको दाहिने पखेटामा प्वाल परेको चालक दलका सदस्यहरूले फेला पारेपछि उक्त विमानलाई सेवाबाट हटाइएको छ। विमानमा गोली हानेको शंकामा अनुसन्धान सुरू भएको छ। मियामीबाट कोलम्बियाको मेडेलिनका लागि उडेको 'उडान ९२३' अवतरणपछि गरिएको प्राविधिक निरीक्षणका क्रममा दाहिने पखेटामा प्वाल फेला परेपछि उक्त विमानलाई सेवाबाट हटाइएको हो।

फेब्रुअरी २२ मा मेडेलिनमा अवतरण गरेपछि ग्राउन्ड क्रुले विमानको दाहिने पखेटाको 'एलेरोन' (विमानलाई दायाँ–बायाँ मोड्न मद्दत गर्ने नियन्त्रण सतह) मा शंकास्पद प्वाल फेला पारेका थिए। प्राविधिक निरीक्षकहरूका अनुसार उक्त प्वालमा एकातिरबाट गोली पसेको र अर्कोतिरबाट निस्किएको (इन्ट्री र एक्जिट पोइन्ट) स्पष्ट देखिएको छ, जुन हतियारबाट प्रहार गरिएको गोलीसँग मिल्दोजुल्दो छ।

अमेरिकन एयरलाइन्सले उडानका क्रममा कुनै असामान्य अवस्था महसुस नभएको र चालक दलका सदस्य वा यात्रु कसैलाई पनि चोट नलागेको स्पष्ट पारेको छ। एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'थप विस्तृत निरीक्षण र मर्मतका लागि विमानलाई तत्काल सेवाबाट हटाइएको छ। हामी सम्बन्धित अधिकारीहरूसँग मिलेर अनुसन्धान गरिरहेका छौँ।'

प्राविधिकहरूले रातभर लगाएर अस्थायी मर्मत गरेपछि विमानलाई मियामी हुँदै डालास पुर्‍याइएको छ। त्यसयता उक्त विमानले कुनै पनि व्यावसायिक उडान भरेको छैन।

कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले घटनाबारे जानकारी पाएको भए पनि अमेरिकी अधिकारी वा एयरलाइन्सले यसबारे औपचारिक पत्राचार नगरेको बताएको छ। व्यावसायिक उड्डयनको इतिहासमा उड्दै गरेको जहाजमा गोली लाग्नुलाई सुरक्षाको गम्भीर उल्लंघन मानिन्छ।

यसअघि सन् २०२४ मा पनि अमेरिकाकै साउथवेस्ट एयरलाइन्सको जहाजमा उडान भर्ने तयारीकै क्रममा गोली लागेको रेकर्ड छ। यस घटनाको वास्तविक कारण र समयबारे उड्डयन सुरक्षा निकायहरूले अनुसन्धान जारी राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad