बाराको निजगढमा निर्माण हुनलागेको अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको बाहिरी घेरामा सडक निर्माणका लागि रुख कटान गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ।
उक्त आयोजना निर्माणका लागि अन्तर्निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको आइतबार पर्यटनमन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा बसेको बैठकले पेरिफेरी रोडका लागि ४ हजार २ सय ३२ वटा रुख काट्ने निर्णय गरेको हो।
समितिको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सम्पन्न बैठकले विमानस्थल निर्माणसँग सम्बन्धित पाँचवटा निर्णय गरेको पर्यटनमन्त्रीको निजी सचिवालयका शाखा अधिकृत कमल भट्टराईले जानकारी दिए।
मन्त्रीस्तरीय निर्णय भए पनि रुख कटान स्वीकृति भने मन्त्रिपरिषदले दिनुपर्नेछ। यसका लागि वन मन्त्रालयले चाँडै मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने भएको छ। रुखसँगै विमानस्थल क्षेत्रभित्रका पोलहरुको लगत नम्बरिङ कार्य तत्काल अघि बढाइने भएको छ।
भट्टराईका अनुसार रुख कटानबाहेक आयोजना क्षेत्रको बस्ती स्थानान्तरणका लागि समितिको ०७६ माघ २ गतेको निर्णयानुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्तालयका सहसचिवको संयोजकत्वमा पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशक समेतको प्रतिनिधित्व हुने गरी गठन भएको कार्यदलले आफ्नो कार्य जिम्मवारीबमोजिमका कार्यहरु यथाशीघ्र अगाडि बढाई सोको प्रगति प्रतिवेदन १० दिनभित्र समितिमा बुझाउनुपर्ने निर्णय भएको छ।

त्यस्तै, ०७४ भदौ १९ गते निजगढ विमास्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने रुख कटान गर्ने सम्बन्धमा सेना र प्राधिकरणबीच भएको समझदारीपत्रमा म्याद थप गरी कार्य अघि बढाउने पनि निर्णय भएको छ।
विमानस्थल निर्माणको लागि लगानी बोर्डले निश्चित समयसीमा तोकेर जुरिच इन्टरनेशनलसँग सार्वजनिक निजी साझेदारी मोडलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ। त्यस्तै प्राधिकरणले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रिया पनि चाँडै सम्पन्न गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया