पटक पटक सम्झौता गरे पनि सर्लाहीको धनकौल गाउँपालिका ६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको भुक्तानी अझै दिएको छैन। उखुको भुक्तानी नपाएपछि किसानले पुनः आन्दोलनको तयारी गरेका छन्।
उद्योगले ०७० देखि हालसम्म १२ हजार किसानको करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको स्थानीय किसान मुकेश ठाकुरले बताए।
ठाकुरका अनुसार केही दिन अघि उद्योगले किसानलाई थाहै नदिई गोप्यरूपमा गोदामबाट चिनी बाहिर लैजान खोजेपछि स्थानीय किसानले चिनी लोड भएका चार ट्रक नियन्त्रणमा लिएका थिए।
त्यसपछि उद्योगले एक–दुई जना किसानलाई केही रकम भुक्ता दिएको थियो। सबै किसानको पूरै रकम भुक्तानी माग गर्दै किसानले उद्योग विरुद्ध आन्दोलन गर्ने चेताबनी दिएका छन्।
लकडाउनको समयमा किसानको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्यरूपमा चिनी लैजान खोज्दा सबै किसान मिलेर ट्रक नियन्त्रणमा लिएका थिए।
त्यसैगरी गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योगले पनि गत वर्षको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानीय किसानको भनाई छ। गत फागुन १८ गतेसम्म सञ्चालनमा गरेको महालक्ष्मी चिनी उद्योगले माघ ७ गतेसम्मको रकम मात्र भुक्तानी गरेको ठाकुरले बताए।
किसानले पाउनुपर्ने उखुको अनुदानसमेत सरकारले अहिलेसम्म नपठाएको किसानले बताएका छन्। जारी लकडाउनका कारण बाहिर काम गर्न जान नपाएको र आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य पदार्थको भुक्तानी पनि नपाउँदा किसान मारमा परेका छन्।
उद्योगले भुक्तानी समयमा नदिएपछि आफ्नो खेत बेचेर साहुको ऋण चुक्ता गर्न बाध्य भएको अर्का किसान रामशरण यादवले गुनासो गरे।
भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसान न्याय नपाएपछि पुसको कठ्याङ्ग्रिँदो जाडोमा नाङ्गा खुट्टामा आन्दोलन गर्न काठमाडौँ पुगेका थिए।
समयमै उखुको भुक्तानी माग राख्दै जिल्लाका उखु किसान माइतीघर मण्डलामा प्रदर्शन तथा धर्नामा समेत बसेका थिए। सरकारले उखु किसान तथा उद्योगीबीच सहमति गराउँदै किसानलाई आन्दोलन स्थगन गरी पठाएको भए पनि अन्नपूर्ण चिनी उद्योगले सम्झौताविपरीत किसानको भुक्तानी समयमा नगर्दा किसान थप मर्कामा परेका छन्।
किसानले उद्योगको गोदाममा रहेको चिनी बिक्री वितरण गर्न नदिएका कारण किसानको रकम भुक्तानीमा ढिला भएको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले दाबी गरे।
‘गोदाममा चिनी छ, किसानले बेच्न दिदैनन्। अनि कसरी उनीहरुको भुक्तानी गर्न सकिन्छ?’ अग्रवालले भने। किसानले थोरै भए पनि सबै किसानलाई तत्कालै भुक्तानी दिन माग गरेका छन्। यदि उद्योगले यथाशीघ्र थोरै भए पनि उखुको भुक्तानी नदिए आन्दोलन गर्ने तयारीमा रहेको उखु किसानले बताएका छन्।
Shares

प्रतिक्रिया