भारतको नागरिक उड्डयन नियामक निकाय (डीजीसीए)ले उडान योग्यताको प्रमाणपत्र (एआरसी) विनै यात्रु बोकेको कसुरमा एयर इन्डियालाई १ लाख १० हजार ३ सय ५० अमेरिकी डलर (करिब १ करोड ४७ लाख नेपाली रुपैयाँ) जरिवाना गरेको छ।
वार्षिक रूपमा गरिने प्राविधिक परीक्षण र सुरक्षा मापदण्ड पूरा नगरी विमान उडाएर सार्वजनिक सुरक्षामा खेलबाड गरेको भन्दै नियामकले कडा कारबाही गरेको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार एयर इन्डियाको एयरबस ए–३२० विमानले गत नोभेम्बर २४ र २५ मा नयाँ दिल्ली, बेंगलुरु, मुम्बई र हैदराबादका लागि ८ पटक व्यावसायिक उडान भरेको थियो। विमानको सुरक्षा र प्राविधिक अवस्था दुरुस्त भए/नभएको प्रमाणीकरण गर्ने अनिवार्य 'एयरवर्दिनेस रिभ्यु सर्टिफिकेट' (एआरसी)को म्याद सकिए पनि एयरलाइन्सले उडान नरोकेको पाइएको हो।
सीईओ जिम्मेवार
नागरिक उड्डयनका सह–महानिर्देशक मनीष कुमारले जारी गरेको आदेशमा यस लापरबाहीले भारतको दोस्रो ठूलो वायुसेवाप्रति रहेको जनविश्वासमा गम्भीर चोट पुगेको उल्लेख छ। नियामकले एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्याम्पबेल विल्सनलाई नै उत्तरदायी प्रबन्धक (एकाउन्टेबल म्यानेजर)का रूपमा यो गम्भीर त्रुटिको भागिदार ठहर्याएको छ।
टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको एयर इन्डियाले आफ्नै आन्तरिक छानबिनमा पनि संस्थाभित्र 'प्रणालीगत असफलता' रहेको स्वीकारेको थियो। कम्पनीले एक विज्ञप्ति जारी गर्दै नियामकको आदेशलाई स्वीकार गरेको जनाएको छ। 'हामीले पहिचान गरिएका गल्तीहरूलाई सुधार गरिसकेका छौँ र सोको प्रतिवेदन नियामकलाई बुझाइसकेका छौँ,' विज्ञप्तिमा भनिएको छ ।
गत वर्षको जुनमा बोइङ ड्रिमलाइनर दुर्घटना हुँदा २ सय ६० जनाको ज्यान गुमेको घटनापछि एयर इन्डिया सुरक्षा अडिट र कडा निगरानीको घेरामा छ। विमानको आपत्कालीन उपकरण जाँच नगरी उडान भरेको र उडान पूर्वको अनिवार्य प्रक्रिया (एसओपी) पालना नगरेको भन्दै यसअघि पनि नियामकले एयरलाइन्सलाई चेतावनी दिँदै आएको थियो।
Shares

प्रतिक्रिया