दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो।
अमेरिकाले चीनमाथि थप सामग्रीमा करवृद्धि गर्ने घोषणा गरेसँगै दुबै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भङ्ग भएको थियो। अमेरिकी कदम लगत्तै चीनले पनि प्रतिशोध स्वरुप कतिपय अमेरिकी सामानमा करवृद्धि गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत जुन २९ मा जापानमा भेटवार्ता भएपछि अबरुद्ध व्यापार वार्ता पुनः थालनी गर्ने विषयमा सहमति भएको थियो। विश्वका २० औद्योगिक राष्ट्रहरुको शिखर सम्मेलन (जी२०) बैठकमा सहभागी हुन जापानको ओशाकामा रहँदा दुबै नेताबीच व्यापार, लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाजस्ता विषयमा छलफल भएको थियो।
अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चिनियाँ उपप्रधानमन्त्री लिऊ हे र वाणिज्य मन्त्री झोङ शानसँग मङ्गलबार टेलिफोनबाट कुराकानी गरेका थिए।
ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले संवाददाताहरुसँग कुरा गर्दै वार्ता निकै रचनात्मक भएको तर विस्तृत विवरण सार्वजनिक गर्ने समय नभइसकेको जानकारी दिएका छन्।
अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिएको अन्तर्वार्तामा कुडलोले दुबै देशका उच्च व्यापार मध्यस्थकर्ताबीच भएको वार्ता प्रारम्भिक रहेको बताउँदै दुबै पक्षबीच सायद तत्कालै बैठकको आयोजना हुने बताए। उनले चीनले जतिसक्दो चाँडो अमेरिकी कृषि उत्पादन खरिद गर्न थालेलगत्तै सम्भवत वार्ता पनि सुचारु हुने बताए।
चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको संक्षिप्त वक्तव्यमा ओशाकामा दुबै राष्ट्रपतिबीच भएका विचार आदानप्रदानकै सेरोफेरोमा सहमति खोजिने उल्लेख छ।
एएफपीका अनुसार अमेरिका र चीनले एक अर्का मुलुकका करिब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेका छन्।
Shares

प्रतिक्रिया