प्रतिकित्ता ८ सय २० रुपैयाँ ८८ पैसा खर्चिएर रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानी गरेका लगानीकर्ताले पहिलो कारोबार दिनमै करिब ५ सय रुपैयाँ मूल्य गुमाउने भएका छन्।
नेपाल स्टक एक्सचेन्जले रिलायन्स स्पिनिङ मिल्सको १ करोड ९० लाख कित्ता साधारण सेयर शुक्रबार सूचीकरण गर्दै आइतबारबाट पहिलो कारोबार खोल्ने भएको हो।
नेप्सेले आइतबार कम्पनीको ओपनिङ रेन्ज भने प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँ मात्रै तोकेको छ।
नेपाल धितोपत्र बोर्डले बुकबिल्डिङ प्रक्रियाबाट ८ सय २० रुपैयाँ ८८ पैसा प्रतिकित्ता मूल्य आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो। महंगो मूल्यमा आईपीओ निष्काशन गरे पनि नेप्सेले भने अधिकतम ३ सय रुपैयाँ मात्रै ओपनिङ रेन्ज तोकेको हो।
४४ हजार ४४ सय रुपैयाँ तिरेर ५० कित्ता आईपीओ पाएका लगानीकर्ताले पहिलो कारोबार दिनमै अधिकतम रेन्जका आधारमा २६ हजार ४ सय रुपैयाँ मूल्य गुमाउने निश्चित देखिएको हो।
४१ हजार ४४ रुपैयाँमा ५० कित्ता खरिद गरेका लगानीकर्ताको सेयर १५ हजार रुपैयाँको मात्रै हुनेछ।
आईपीओ निष्काशनमा अनियमितता भएको भन्दै यस मिल्सविरुद्ध अर्थ मन्त्रालयमा उजुरी परेको थियो। त्यसपछि मन्त्रालयले सेबोनलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो।
बोर्डले पुस ६ गते सञ्चालक विनोद कुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरे पनि सो समितिको अध्ययन प्रतिवेदन बाहिर ल्याइएको थिएन।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरे समितिको अध्ययन प्रतिवेदनबारे आफुलाई थाहा नभएको बताए।
‘नेप्सेको कार्यक्षेत्रभित्र पर्ने भएकाले यस विषयमा बोल्न मिलेन नेप्सेलाई थाहा हुन्छ’, उनले भने।
यता नेप्सेले भने शुक्रबार नोटिस जारी गर्दै रिलायन्स स्पिनिङ मिल्स र नेप्सेबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १ सय कायम गरी १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकरण गरेको जनाएको छ। जसमा सर्वसाधारणतर्फ १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६०० सय कित्ता सेयर बिक्री गरिएको छ भने संस्थापक सेयरधनीहरुको १ करोड ७० लाख कित्ता सेयर सूचीकरण गरिएको हो।
Shares

प्रतिक्रिया