भदौ २३ र २४ गतेको त्यो ४८ घण्टा भाटभटेनीको इतिहासकै सबैभन्दा लामो र कहालीलाग्दो समय थियो। 'जेनजी' आन्दोलनको रापले कोटेश्वरस्थित स्टोरका झ्यालहरू फुट्दै गर्दा र भित्रबाट सामानहरू बाहिरिँदै गर्दा धेरैलाई लागेको थियो— यो विशाल व्यावसायिक साम्राज्यलाई तङ्ग्रिन अब वर्षौ लाग्नेछ।
शनिबार बिहान जब कोटेश्वर भाटभटेनीको ढोका फेरि ग्राहकका लागि खुल्नेछ, त्यहाँ हिंसाको कुनै डोब बाँकी रहने छैन। ठिक पाँच महिनाअघि 'खण्डहर' जस्तै बनेको यो संरचनालाई पुनर्जन्म दिन सञ्चालक मीनबहादुर गुरुङले कुनै जादु गरेनन्, बरु श्रमिकको पसिनामा आफ्नै पसिना मिसाए।

६० दिनको 'फिल्ड ड्युटी'
मंसिर २४ गतेदेखि कोटेश्वर स्टोरको पुनर्निर्माण सुरु भएको थियो। त्यसयताका २ महिनासम्म मीनबहादुरका लागि कुनै करपोरेट कार्यालयको कुर्सी भन्दा निर्माण स्थलको धुलो प्यारो भयो।
हरेक बिहान ७ बजे कोटेश्वर पुग्ने गुरुङ राति ९ बजेसम्म त्यहीँ हुन्थे। करिब ६०० श्रमिकको बीचमा उभिएर कामको नेतृत्व मात्र गरेनन्, उनीहरूसँगै बसेर खाजा खाए, समस्या सुने र हौसला दिए। विशेष कामका लागि बाहेक उनी अबेर रातसम्म श्रमिकसँगै बसे। भवनका भित्ताहरू डढेर काला भएका थिए, जसलाई 'रेट्रोफिटिङ' गरेर फेरि मजबुत बनाइएको छ।

'अध्यक्षज्यू आफैं फिल्डमा खटिएपछि श्रमिकहरूको मनोबल अर्कै उचाइमा पुग्यो,' भाटभटेनीका मुख्य सञ्चालन अधिकृत पानुदत्त पौडेल भन्छन्, 'उहाँले श्रमिकलाई मालिकका रूपमा होइन, एक सहकर्मीका रूपमा प्रेरणा दिनुभयो। त्यही दृढ संकल्पको परिणाम हो— यो पाँच तले संरचना ६० दिनमै ठडियो।'
असारसम्म बाँकी ९ वटा पनि सञ्चालन हुने
भाटभटेनी केवल एउटा सुपरमार्केट मात्र होइन, यो नेपालको आधुनिक रिटेल व्यापारको मानक पनि हो। तर, त्यो दुई दिने हिंसाले यसलाई गहिरो चोट पुर्यायो। उपत्यकाभित्रका बौद्ध, नक्साल, कोटेश्वर र महाराजगञ्जक सहित ५ स्टोरमा आगजनी र लुटपाट भयो। उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरानका स्टोर पनि जले। यीबाहेक अरू ९ वटा आउटलेटहरू पनि निशानामा परे।+

व्यवस्थापनका अनुसार लुटपाट र आगजनीबाट कुल १० अर्ब ८५ करोड ६८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। निजी क्षेत्रको एक व्यवसायीका लागि यो ठूलो झट्का थियो। तर, गुरुङले हार मानेनन्। उनले क्षतिको तथ्यांक हेरेर टाउको समातेर बसेनन्, बरु पुनर्निर्माणको गुरुयोजना बुने।
मंसिर १८ मा बालुवाटारको वेयर हाउस सञ्चालनमा आउनु र अहिले कोटेश्वर तयार हुनुले भाटभटेनी फेरि लयमा फर्केको संकेत गर्छ।
मीनबहादुरको यो जुझारुपन नयाँ भने होइन। खोटाङको सामान्य परिवारमा जन्मिएर बैंकको जागिर छाडेर व्यवसायमा होमिएका उनले २०४१ सालमा महाराजगञ्जमा १२० वर्ग फिटको सानो सटरबाट भाटभटेनी सुरु गरेका थिए। कठिन परिस्थितिमा पनि 'डेलिभरी'मा विश्वास गर्ने गुरुङले यसपटक आफ्नै ध्वस्त संरचना ब्युँताएर नयाँ उदाहरण पेस गरेका छन्।

अहिले देशभरका ध्वस्त संरचना ब्युँताउन करिब २ हजार श्रमिक अहोरात्र खटिएका छन्। पौडेलका अनुसार अबको पालो महाराजगञ्ज स्टोरको हो, जुन आगामी दुईदेखि तीन हप्ताभित्रै तयार हुनेछ।
'हामीले एउटा लक्ष्य राखेका छौं— असार मसान्तभित्र बाँकी ९ वटा स्टोर पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउने,' पौडेलले थपे।
भदौको त्यो खरानीबाट उठेर माघ अन्त्यमा सञ्चालनमा आउन लागेको कोटेश्वर भाटभटेनी केवल एउटा स्टोर मात्र होइन, यो नेपाली उद्यमीको अदम्य साहस र (बाउन्स ब्याक) हुन सक्ने क्षमताको प्रतीक पनि हो।

Shares

प्रतिक्रिया