सेयरबजार परिसूचकमा गिरावट आए पनि कारोबार रकमको लय भने यथावत् देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा झरेको छ। तर कारोबार रकम भने १४ अर्ब ५६ करोड छ। ३ करोड ५४ लाख कित्ता खरिदबिक्रीमा उक्त कारोबार भएको हो।
नेप्सेका अनुसार पछिल्ला ५ कारोबार दिन १० अर्ब बढीको कारोबार भएको छ।
बुधबार ११ अर्ब ४९ करोड, मंगलबार १४ अर्ब १६ करोड, सोमबार १६ अर्ब ३५ करोड र आइतबार १३ अर्ब ७८ करोडको कारोबार भएको थियो। राजनीतिक माहोल चुनावकेन्द्रित हुँदा पछिल्लो समय लगानीकर्ता सेयरबजारमा जुर्मुराउन थालेका हुन्।
साताको अन्तिम कारोबार दिन बिहीबार ८५ वटा सेयरको मूल्य समेत बढेको छ। यस दिन हिमाल दोलखा हाइड्रोपावर ९.२३ अंकले बढ्दा शिवश्री हाइड्रोपावर ९.१९ प्रतिशत, कालिका पावर कम्पनी ८.३२ प्रतिशत, रावा इनर्जी डेभलपमेन्ट ७.४६ प्रतिशत र शुभम् पावर लिमिटेड ५.९२ अंकले बढेको छ।
यस दिन १७० वटा सेयर भने घटेका छन्। जसमा सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्टमा नकारात्मक सर्किट ब्रेक लागेको छ। तीनवटै कम्पनीका लगानीकर्ताले क्रमशः प्रतिकित्ता २१९.६०, १५७.५० र ९७ रुपैयाँ नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ। यसबाहेक सान्भी इनर्जी पनि ९.८५ प्रतिशतले घटेको छ।
कारोबारमा भने आज एउटै सेयर ५९ करोड ९९ लाखसम्मको कारोबार भएको छ। बिहीबार ङादी ग्रुप पावरको सो परिमाणमा कारोबार भएको हो। यो नै आजको सबैभन्दा धेरै कारोबार हो। यसबाहेक एसवाई प्यानलको पनि ५२ करोडको किनबेच भएको छ। युनाइटेड मोदी हाइड्रो, युनियन हाइड्रो र राधी विद्युत्को क्रमशः ४६ करोड ६४ लाख, ४४ करोड ६२ लाख र ४३ करोड ३० लाखको कारोबार भएको छ।
बिहीबार जलविद्युत, लगानी, सामूहिक लगानी बढे पनि बाँकी उपसूचक राताम्य छन्।
Shares

प्रतिक्रिया