बैंक तथा वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएपछि नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी र बैंक प्रतिनिधिहरूबीच सामूहिक छलफल र समन्वयको प्रयास तीव्र भएको छ।
बैंक तथा बैंककर्मचारीमाथि बढ्दो आक्रमण र व्यवधानले वित्तीय क्षेत्रमा अस्थिरता बढाएको भन्दै सम्बन्धित पक्षले सुरक्षाका विषयलाई प्रथम प्राथमिकतामा राख्दै सँगै अगाडि बढ्ने निर्णय गरेका छन्।
राष्ट्र बैंकका गभर्नर ड विश्वनाथ पौडेलको नेतृत्वमा शुक्रबार आयोजित बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र बैंक तथा वित्तीय संस्थाका शीर्ष नेतृत्वले बैंकिङ क्षेत्रमा सुरक्षा चुनौतीबारे विस्तृत छलफल गरेका हुन्। छलफलमा बैंकिङ गतिविधि, कर्जा रिकभरी, वित्तीय प्रणालीको स्थिरता र बैंककर्मीको व्यक्तिगत सुरक्षा लगायतका संवेदनशील विषयमा गम्भीर विषयवस्तु उठाइएको थियो।
बैठकमा विशेष रूपमा बैंक कर्मचारीमाथि भइरहेको दुव्र्यवहार, कुटपिट र धम्कीजस्ता घटनालाई पूर्ण रूपमा नियन्त्रणमा लिने तथा दोषीलाई कडा कारबाही गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ। राष्ट्र बैंक र प्रहरीले बैंक तथा वित्तीय संस्थाहरूको आंतरिक सुरक्षा व्यवस्थालाई अझ सशक्त पार्ने, आवश्यक समन्वय सम्भव हुने गरी निगरानी प्रणाली लागू गर्ने र स्थानीय प्रशासनसँग सहकार्य गर्ने विषयमा पनि सहमति जनाएका छन्।
बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला समयमा कर्जा तिर्नुअघि नै बैंक कर्मचारीमाथि आक्रमण, मोसोको प्रयोग, धम्कीपूर्ण सन्देश र जोखिमपूर्ण व्यवहार बढेको उजुरी गरेका थिए।
बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सरकारसँग कडा कानुनी कारबाही तथा दीर्घकालीन सुरक्षा संरचना बनाउन आग्रह गर्दै आएका थिए। यसै मागलाई उद्धृत गर्दै राष्ट्र बैंक र प्रहरीले संयुक्त रूपमा “दुव्र्यवहार जोखिम व्यवस्थापन” र सुरक्षा उपायहरू लागू गर्ने दिशामा अघि बढ्ने निर्णय गरेको छ।
वित्तीय क्षेत्रमा सुरक्षाका यी पहलहरू, आगामी बेलामा बैंक तथा वित्तीय संस्थाहरूको स्थिरता र ग्राहक विश्वास कायम गर्न महत्वपूर्ण रहेको बैंकर्स संघले जनाएको छ।
बैंकिङ क्षेत्रले अब कानुन पालन, निगरानी सुदृढीकरण र समन्वयमार्फत जोखिमलाई न्यून गर्ने प्रयासलाई प्राथमिकता दिने पनि संघको भनाइ छ।
Shares

प्रतिक्रिया