नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अस्ट्रेलियाका लागि उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २ सय ६४ जना यात्रु लिएर वाइडबडी अस्ट्रेलिया प्रस्थान गरेको हो।
निगमकी प्रवक्ता अर्चना खड्काले २ सय ६४ जना यात्रु लिएर विमान सिड्नी उडेको जानकारी दिइन्।
नेपालस्थित अस्ट्रेलियन राजदूतावासले १ सय २७ अस्ट्रेलियाली नागरिक, १ सय ४९ जना अस्ट्रेलियाको स्थायी बसोबास गर्ने र ५ जना न्युजिल्यान्डका नागरिक रहेको जनाएको छ। दूतावासका अनुसार ५८ जना बालबालिका छन् भने १७ जना २ वर्षमुनिका शिशु समेत रहेका छन्।
आजको उडानका लागि काठमाडौंबाहिरबाट १ सय १८ जनालाई ल्याइएको थियो। उडानका लागि सहयोग गरेकोमा दूतावासले नेपाल सरकार र वायुसेवा निगमलाई धन्यवाद दिएको छ।
३० हजार किट ल्याउने
यसैबीच, निगमको जहाजले अस्ट्रेलियाबाट फर्किने क्रममा मलेसियाबाट ३० हजार कोरोना परीक्षण किट ल्याउने भएको छ। उक्त किट अनुदानको भएको प्रवक्ता खड्काले बताइन्।
उनका अनुसार अस्ट्रेलिया जाने क्रममै मलेसियाबाट उक्त किट उठाइनेछ। त्यसपछि जहाज अस्ट्रेलियाबाट सिधै नेपाल फर्किनेछ।
त्यस्तै आजै साँझ निगमकै अर्को वाइडबडी चीनको राजधानी बेइजिंग जाँदै छ। उक्त जहाज निजी कम्पनीहरुले ल्याउनलागेको स्वास्थ्य सामग्री लिन चार्टर्ड उडानमा चीन जानलागेको हो।

प्रतिक्रिया