कारोबार


बेइजिङ र सिड्नी उड्दै नेपाल वायुसेवा निगमको जहाज

बेइजिङ र सिड्नी उड्दै नेपाल वायुसेवा निगमको जहाज

रासस
बैशाख २४, २०७७ बुधबार ६:५०,

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुई वाइडबडी जहाजबाट बुधबार चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दै छ।

निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन्।

उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ। वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:३० बजे उड्ने र भोलिपल्ट साँझ ५ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ।

दोस्रो जहाजले आज साँझ ५ः३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ। उक्त जहाज भोलि काठमाडौं फर्कने तालिका छ। दुवै अन्तर्राष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको छ। वाइडबडी जहाज अष्ट्रेलियाबाट रित्तै फर्कनेछ। लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडान हुने जनाइएको छ। निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडन गरेको थियो। मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको थियो।

निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कँदा सिधै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। काठमाडौं–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ।

बेइजिङ पहिलो र ऐतिहासिक उडान
नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ। अहिलेको विषम परिस्थितिमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलो पटक भएको निगमले उल्लेख गरेको छ। काठमाडौं–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ।

निगमले यसअघि चीनको साङ्घाई हुँदै जापानको ओसाका उडान गर्ने गरेको थियो। सन् १९८४ ताका निगमले सो गन्तव्यमा उडान सुरू गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो। अघिल्लो वर्ष भदौ १२ देखि पुनः उडान सुरु गरिए पनि २०७६ फागुन १९ देखि जापानकै नारिता उडान सुरू भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो।

निगमले चीनको ग्वान्जाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो। नेपालमा कोभिड–१९ नियन्त्रणका लागि लकडाउन गरिएपछि उडान हुनसकेको छैन। बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउनसकेको छैन।

अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ र छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको छ। निगमले भने (सुरूको साङ्घाई उडानबाहेक) अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन। बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad