गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कुल ७९९ वटा प्रारम्भिक बीमा दाबी परेकामा भुक्तानी दिने काम भइरहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
उक्त दाबीको कुल करिब ४ अर्ब १९ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल २०९ वटा दाबीको कुल दाबी रकम करिब १९ करोड ६४ लाख बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले उल्लेख गरेको हो।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१९ वटा प्रारम्भिक दाबीको प्रारम्भिक दाबी रकम करिव ३ अर्ब ५८ करोड ५४ लाखमध्ये कुल ५३ वटा बीमा दाबीको करिव १६ करोड ४४ लाख र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिव ५२ करोड ३० लाखमध्ये कुल ९ वटा दाबीको करिव १ करोड ४० लाख बीमितहरूलाई भुक्तानी भएको छ।
यसैगरी, कृषि तथा बाली बीमातर्फ २१७ वटा प्रारम्भिक बीमा दाबीको करिव ४ करोड १७ लाख प्रारम्भिक बीमा दाबीमध्ये कुल १२७ वटा दाबीको करिव ५० लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव २ करोड ८२ लाख दाबी रकममध्ये कुल १७ वटा दाबीको करिव १ करोड २७ लाख र सामुद्रिक बीमातर्फ कुल ४ वटा प्रारम्भिक बीमा दाबीको करिव १० लाख ६५ हजार प्रारम्भिक बीमा दाबी रकममध्ये कुल ३ वटा दाबीको करिव ३ लाख २७ हजार दाबी रकम बीमितलाई भुक्तानी भएको छ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ कुल १० वटा दाबीको करिव १ करोड १९ लाख र लघुबीमातर्फ कुल २ वटा प्रारम्भिक दाबीको करिब १२ लाख प्रारम्भिक बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ।
Shares

प्रतिक्रिया