नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको नाका बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो। नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।
उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ। केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि ८ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरिसकेका सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए। केही सवारीसाधन त्यसतर्फ जानका लागि तयारी अवस्थामा रहेको कुँवरले बताए।
नाका बन्द रहँदा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म २२ अर्बभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए। सामान आयातको करबाट राजस्व सङ्कलन हुने गर्छ।
स्याफ्रुबेँसी–सुवागढी खण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या भएको छ। सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यानदिन सरोकार भएका निकायलाई आग्रह गरिएको सवारी चालक रसुवा यार्साका सुकु तामाङले बताए।
गत असार २४ गतेको बाढीले दर्जनौँ स्थानका सडक कटान गरी गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरे पनि सडकको ट्र्याक खोल्ने काम मात्र भएको थियो। उक्त समयमा टेवा पर्खाल मजबुत बनाउन नसक्दा सवारीसाधन सञ्चालनमा जोखिम बन्दै गएपछि सवारीचालकले समस्या समाधानका लागि आग्रह गरेका हुन्।
Shares

प्रतिक्रिया