नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की)ले नेपाल–भारत संयुक्त लगानीमा मल उत्पादन कारखाना स्थापना गर्ने प्रस्ताव गरेको छ।
निक्कीका अध्यक्ष सुनील केसीले भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयका अतिरिक्त सचिव डा. प्रमोदकुमार मेहेरदासँग काठमाडौँ भ्रमणका क्रममा भएको अन्तरक्रियामा मल कारखाना खोल्ने प्रस्ताव राखेका हुन्। मलको अनियमित आपूर्तिका कारण नेपाली कृषि क्षेत्रले भोग्दै आएको चुनौती औँल्याउँदै अध्यक्ष केसीले द्विपक्षीय सहकार्यमार्फत दीर्घकालीन र संरचनागत समाधानको आवश्यकता रहेको बताए।
‘समयमै मल उपलब्ध नहुनु नेपालमा कृषि उत्पादन बढ्न नसक्नुका प्रमुख कारणहरूमध्ये एक हो’, उनले भने, ‘मल उत्पादन कारखानामा संयुक्त लगानीले नेपालमा दीर्घकालदेखि देखिएको आपूर्ति समस्यालाई उल्लेखनीय रूपमा समाधान गर्नुका साथै क्षेत्रीय खाद्य सुरक्षामा पनि योगदान पुर्याउन सक्छ।’
यस्तो सहकार्यले दुवै देशबीचको आर्थिक सम्बन्ध अझ सुदृढ हुने पनि उनले बताए। यस किसिमको सहकार्यले आपूर्ति स्थायित्व सुनिश्चित गर्नुका साथै नेपाल–भारतबीचको आर्थिक एकीकरण र साझेदारीलाई थप गहिरो बनाउने उनको भनाइ थियो।
छलफलमा कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने र द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने विषयमा पनि ध्यान केन्द्रित गरिएको थियो। दुवै पक्षले दिगो कृषि अभ्यास प्रवद्र्धन, उत्पादनशीलता वृद्धि तथा यस क्षेत्रमा किसानले भोगिरहेका संरचनागत चुनौतीहरूबारे पनि छलफल गरेका छन्।
बैठकमा निक्की अन्तर्गतको साना तथा मझौला उद्यम कार्यसमिति सदस्यहरू तथा निम्बस नेपाल र डाबर नेपाललगायत कृषि उद्यमीहरूले कृषि इकोसिस्टम विशेषगरी बाली कटानपछिको व्यवस्थापनमा जोड दिँदै कृषी मूल्य शृंखला सुदृढीकरणको आवश्यकता औँल्याए। यसैगरि, मानव पूँजी विकासको महत्त्वमा जोड दिँदै सहभागीले नेपाली किसानका लागि लक्षित तालिम र क्षमता अभिवृद्धिको आवश्यकता पनि औँल्याए।
दुवै देशका कृषि प्रणालीलाई एक आपसमा परिपूरक बनाउने इकोसिस्टम विकास गर्दा तुलनात्मक लाभलाई प्रभावकारी रूपमा उपयोग गर्न सकिने उनीहरूको धारणा थियो। निक्कीले जैविक कृषिमा सहकार्य विस्तार गर्न सकिने प्रस्ताव पनि राख्दै जैविक प्रमाणीकरणका लागि भारत सरकारको संस्थागत सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।
निक्कीका प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गर्दै अतिरिक्त सचिव डा. मेहेरदाले नेपालको कृषि क्षेत्रसँग सम्बन्धित प्रमुख मुद्दाहरू संकलन गरी आफ्नो मन्त्रालयमा पेश गर्न चेम्बरलाई अनुरोध गरे। उनले दुवै पक्षका लागि लाभदायक हुने गरी सहकार्यात्मक समाधानहरू खोज्न सकिने संकेत पनि गरे। डा. मेहेरदा नेपाल–भारत कृषि संयुक्त कार्यदलको बैठकमा भाग लिन नेपाल आएका हुन्।
Shares

प्रतिक्रिया