नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरू भएपनि विदेश बस्नेहरूले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाएका छन्।
नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्।
नेपालमा लगानीको ठूलो सम्भावना रहेको भएपनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताए। नेपाल बाहिर बस्नेहरूले सामाजिक सञ्जालमा नकरात्मक भावना फैलाएको उनको भनाई छ। उनले नकरात्मकतलाई चिर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए।
उनले भने, ‘नेपालमा धेरै सम्भावनाहरू हुँदाहुँदै हामी नकरात्मक हिसावको मात्रै प्रचार प्रसार गर्यौँ। नेपालमा केही सम्भावना छैन। नेपालमा केही भएको छैन भन्ने जुन भाष्य बनाइएको छ, त्यसलाई चिर्न आवश्यक छ। नेपालको आन्तरिक पुँजी परिचालन गरेर पनि केही हुन सक्दैन भन्ने जुन एउटा खास गरेर समाजिक सञ्जालमा नेपालभन्दा बाहिर बस्नेहरूले नेपालमा सम्भावना छैन भनेर नकरात्मक भाष्य खडा गरिएको छ।’
अध्यक्ष ढकालले आन्तरिक पुँजी परिचालन गरेर नेपालमा धेरै परियोजनाहरू सञ्चालन गर्न सकिने बताए। महासंघले आन्तरिक पुँजी परिचालन गर्नकै लागि १० अर्ब रुपैयाँ बराबरको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेडको स्थापना गरेको पनि जानकारी दिए।
कम्पनीले ईनोभेट तथा नयाँ स्टार्टअपहरूमा लगानी गर्ने बताए। अध्यक्ष ढकालले महिलाको सहभागिता बढाउन कानुन र नीतिगत सुधार गरेको पनि बताए।
एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधवार उच्चस्तरीय नीतिगत संवाद आयोजना गरिएको हो।
कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवर्द्धनका उपायहरूमाथि छलफल गरिएको छ। कार्यक्रममा होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटनजस्ता सुक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदान रहेको विषयमा छलफल भएको थियो।
Shares

प्रतिक्रिया