गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूले बीमा दाबीको भुक्तानी गरिरहेका छन्।
यो अवधिमा भएको क्षतिमा कुल ७९० वटा प्रारम्भिक बीमा दाबी परेका थिए। जुन करिब ४ अर्ब १८ करोड २६ लाख रुपैयाँ बराबरको थियो।
सो दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको कुल दाबी रकम करिब ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीको दाबी रकम करिब ३ अर्ब ५८ करोड ३२ लाखमध्ये कुल ३३ वटा बीमा दाबीको करिब ९ करोड ६४ लाख र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिब ५१ करोड ५७ लाखमध्ये कुल ७ वटा दाबीको करिब ९ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
यसैगरी, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिब ४ करोड १४ लाख दाबी रकममध्ये कुल ४२ वटा दाबीको करिब १९ लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिब २ करोड ८२ लाख दाबी रकममध्ये कुल १२ वटा दाबीको करिब १ करोड २० लाख र सामुद्रिक बीमातर्फ ४ वटा बीमा दाबीको करिब ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये २ वटा दाबीको करिब ३ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क रहेको छ।
यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिब १ करोड १९ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिब १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म सुरू नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ।
Shares

प्रतिक्रिया